२५ असार २०८३, बिहीबार

दलाई लामा सम्बन्धी गतिविधिप्रति झलनाथ खनालको आपत्ति


ड्रागन मिडिया समाचार कक्ष

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दलाई लामा सम्बन्धी गतिविधिलाई अनुमति दिएको भन्दै बालेन नेतृत्वको सरकारप्रति कडा आपत्ति जनाएका छन्।

प्रेस नोट जारी गर्दै खनालले नेपालको स्थापित एक चीन नीताविपरीत दलाई लामाको जन्मदिन मनाउने कार्यक्रमलाई अनुमति दिनु राष्ट्रहित प्रतिकूल कदम भएको टिप्पणी गरेका छन्। उनले यस्तो गतिविधिले नेपाल र चीनबीच लामो समयदेखि रहँदै आएको सुमधुर सम्बन्धमा अनावश्यक असर पार्न सक्ने चेतावनी दिएका छन्।

खनालले स्वयम्भु क्षेत्रस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना हुन दिएको भन्दै त्यसलाई नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि विकसित हुँदै आएको मित्रवत सम्बन्धलाई खल्बल्याउने कार्यका रूपमा व्याख्या गरेका छन्।

उनले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली कूटनीतिज्ञहरूको उपस्थिति गम्भीर र आपत्तिजनक रहेको पनि बताएका छन्। खनालका अनुसार नेपाली भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनु राज्यको संवेदनशील कूटनीतिक दायित्व हो।

पूर्वप्रधानमन्त्री खनालले नेपाल लामो समयदेखि एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै त्यसविपरीत देखिने गतिविधिले नेपालको परराष्ट्र नीति, छिमेकी सम्बन्ध र राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

उनले पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी गतिविधिको केन्द्र बनाउन सक्रिय रहेको आरोप पनि लगाएका छन्। खनालले नेपाल कुनै पनि शक्ति प्रतिस्पर्धाको मैदान बन्न नहुने र छिमेकीहरूविरुद्ध नेपाली भूमिको प्रयोग स्वीकार्य नहुने बताए।

खनालले नेपालले जनवादी गणतन्त्र चीन र गणतान्त्रिक भारत दुवै छिमेकीसँग सुमधुर, रचनात्मक र सन्तुलित सम्बन्ध विकास गर्नुपर्ने धारणा राखेका छन्। तर नेपालको तत्कालीन र दीर्घकालीन हितका लागि चीनसँगको सम्बन्ध अझ प्रगाढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

उनले देशलाई वैदेशिक ऋणको भारमा धकेल्ने र बाह्य शक्तिहरूको रणनीतिक स्वार्थअनुसार नीति चलाउने प्रवृत्ति नेपाल र नेपाली जनताको हितमा नहुने चेतावनी पनि दिएका छन्।

खनालले नेपाली जनता आफ्नो मातृभूमि द्वन्द्व, शक्ति प्रतिस्पर्धा वा बाह्य हस्तक्षेपको अखडा बनेको हेर्न नचाहने उल्लेख गरेका छन्। उनले बालेन नेतृत्वको सरकारलाई नेपालको संवेदनशील भूराजनीतिक अवस्था, छिमेकी सम्बन्ध र राष्ट्रिय हितबारे गम्भीर हुन आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले नेपालका निर्वाचित सरकारहरू जनताको हितविपरीत गएमा जनताले त्यसको प्रतिवाद गर्ने इतिहास स्मरण गर्नुपर्ने पनि बताएका छन्। उनका अनुसार नेपाली जनताको चाहना छिमेकी चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने र चीनसँगको सहयोगलाई अझ गहिरो बनाउने हो।

उनले नेपालले एक चीन नीताप्रति आफ्नो प्रतिबद्धता व्यवहारमै स्पष्ट देखाउनुपर्नेमा जोड दिएका छन्। खनालका अनुसार छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनु नेपालको राष्ट्रिय स्वाधीनता, कूटनीतिक परिपक्वता र दीर्घकालीन स्थिरतासँग जोडिएको विषय हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button