वर्षा, बाढी र पहिरोले चार प्रदेशका मुख्य सडक अवरुद्ध

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा आवागमन प्रभावित हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार कतिपय सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक पूर्ण रूपमा अवरुद्ध छन्। सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएका छन्।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा गत असार १२ गते आएको बाढीका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको थियो। उक्त सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ। त्यहाँ वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ।
तर, इलाम नगरपालिका वडा नम्बर ९ राजदुवालीमा असार २३ गतेदेखि अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ नावाखोलामा असार २५ गते आएको बाढीका कारण तमोर कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा पनि बाढीको जोखिम र सडक मर्मतका कारण आवागमन प्रभावित भएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट, नेपालथोक र कटुन्जेबेंसीतर्फ चल्ने सम्पूर्ण सवारी साधनलाई सम्भावित बाढीको जोखिमका कारण असार २२ गतेदेखि बीपी राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ अन्तर्गत महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी, फाखेल, हुमाने, फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक खण्ड मर्मत कार्यका लागि असार २५ गतेसम्म बन्द रहने जनाइएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ मालमुलमा असार २४ गते पहिरो खसेपछि पाल्पा, गुल्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको बताइएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका वडा नम्बर ६ रिजेगार्डमा गत असार १७ गते आएको बाढीका कारण भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध हुँदा स्थानीय यात्रु, ढुवानी सेवा र अत्यावश्यक आवागमन प्रभावित भएको छ।
लगातारको वर्षा, बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि विभिन्न जिल्लामा यात्रुहरू बीचबाटोमै रोकिएका छन्। सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको बताइएको छ।
सम्बन्धित निकायहरूले वर्षा जारी रहेकाले पहाडी तथा नदी किनारका सडकहरूमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन पनि सुझाव दिइएको छ।





