सात पूर्व राजदूतको चेतावनी : दलाई लामाको जन्मदिन कार्यक्रमले एक-चीन नीतिमा प्रश्न उठायो

ड्रागन मिडिया समाचार कक्ष
चीनका लागि नेपालका सात जना पूर्व राजदूतले काठमाडौंमा १४औं दलाई लामाको ९१औं जन्मदिन औपचारिक रूपमा मनाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले यस्तो कार्यक्रमले नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको एक-चीन नीतिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको चेतावनी दिएका छन्।
पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गर्दै नागार्जुन नगरपालिका–२ स्थित नामग्याल स्कुलमा आइतबार आयोजित उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको प्रति चिन्ता व्यक्त गरेका हुन्।
जिल्ला सुरक्षा समितिले बिदाको दिन बैठक राखेर कार्यक्रमको अनुमति दिएपछि यो समारोह सम्पन्न भएको थियो। पूर्व राजदूतहरूले यदि यो कार्यक्रम सरकारको जानकारी वा स्वीकृतिमा भएको हो भने त्यसले नेपाल-चीन कूटनीतिक सम्बन्धको आधारस्तम्भ एक-चीन नीतिलाई नै प्रतिकूल असर पार्ने दाबी गरेका छन्।
नेपालले सधैं एक-चीन नीति दृढतापूर्वक अपनाउँदै आएको र नेपाली भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रतिकूल गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको उनीहरूले स्मरण गराएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा पनि यो प्रतिबद्धता दोहोर्याइएको उल्लेख गर्दै उनीहरूले प्रश्न गरेका छन्– ‘के अब नेपालले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो?’
पूर्व राजदूतहरूले यस्ता गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भूराजनीतिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्न सक्नेतर्फ चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्ता गतिविधि देशको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रतिकूल हुन सक्ने चेतावनी दिँदै सरकार र सम्पूर्ण सरोकारवालालाई सतर्क र सचेत रहन आग्रह गरेका छन्।
वक्तव्यमा उनीहरूले भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा थप संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्।





