२५ असार २०८३, बिहीबार

दलाई लामाको जन्मदिन : एकचीन नीतिविपरीतको कदमले राष्ट्रिय हितलाई धराशायी बनायो

ड्रागन मिडिया सम्पादकीय

नेपालको भूमि, नेपालको सार्वभौमसत्ता, नेपालको परराष्ट्र नीति यी सबै हाम्रा अटल राष्ट्रिय सम्पत्ति हुन्। तर जब हाम्रै माटोमा काठमाडौंको केन्द्रमा चीनको सर्वोच्च राष्ट्रिय हितको विपरीत हुने क्रियाकलापलाई औपचारिक मान्यता दिइन्छ, त्यो हाम्रो परराष्ट्र नीतिको सबैभन्दा ठूलो धोखा हो। चौधौं दलाई लामाको एकान्नब्बेऔं जन्मदिन काठमाडौंमा धूमधामले मनाइनु र त्यसमा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहनु कुनै साधारण घटना होइन, यो चीनप्रतिको हाम्रो दायित्वको खुला अवहेलना हो।

सात जना पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त रूपमा उठाएको प्रश्नले आज सम्पूर्ण राष्ट्रको मनमा एउटै चिन्ता जन्माएको छ : के अब नेपालले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो? यो एउटा मार्मिक प्रश्न हो, जसको जवाफ सरकारले दिनैपर्छ।

नेपालले दशकौंदेखि अवलम्बन गर्दै आएको एकचीन नीति हाम्रो कूटनीतिको आधारशिला हो। चीनसँगको हाम्रो सम्बन्ध आपसी विश्वास, सार्वभौमिकताको सम्मान र क्षेत्रीय अखण्डताको आधारमा टिकेको छ। तर जिल्ला सुरक्षा समितिले बिदाको दिन बैठक राखेर दलाई लामाको जन्मदिन कार्यक्रमलाई अनुमति दिँदा त्यसले हाम्रो त्यही आधारशिलामा हथौडा प्रहार गरेको छ। यदि यो कार्यक्रम सरकारको जानकारी वा स्वीकृतिमा भएको हो भने त्यो घोर अपराध हो, आफ्नै मुखले प्रतिबद्धता जनाएर पछि ढाडमा छुरा हान्नु बराबर हो।

परराष्ट्रमन्त्री शिशिर खनालले हालैको चीन भ्रमणका क्रममा एकचीन नीतिप्रतिको अटल प्रतिबद्धता दोहोर्याए। तर काठमाडौंको सडकमा दलाई लामाको जन्मदिन मनाउन दिँदा त्यो प्रतिबद्धता खोक्रो सावित भएको छ। विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिताले यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ, जसले हाम्रो छिमेकी चीनको राष्ट्रिय भावनामा गहिरो चोट पु¥याएको छ।

नेपालको भूराजनीतिक अवस्था जटिल छ। दुई विशाल छिमेकीको माझमा रहेको हाम्रो देशले सधैं सन्तुलित परराष्ट्र नीति अपनाउँदै आएको छ। तर सन्तुलनको अर्थ कुनै एक छिमेकीलाई बेवास्ता गर्नु होइन, दुवैको सम्मान गर्नु हो। चीनप्रतिको हाम्रो दायित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिले हाम्रो राष्ट्रिय हित, स्थायित्व र विकासको जगलाई नै कमजोर बनाउँछ। यो विश्वासघात हो, राष्ट्रको स्वतन्त्र परराष्ट्र नीतिप्रतिको धोखा हो।

पूर्व राजदूतहरूले सही नै भनेका छन् कि यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा प्रतिकूल प्रभाव पार्छ। तर त्योभन्दा पनि गम्भीर कुरा के हो भने यसले हाम्रो छिमेकी चीनको आँखामा नेपालको विश्वसनीयतालाई ध्वस्त पार्छ। चीनले हामीलाई विश्वास गरेर सहयोग गर्छ, लगानी गर्छ, विकासका परियोजनामा साथ दिन्छ र हामीले उसको राष्ट्रिय अखण्डताको विरुद्धमा जाने कार्यलाई आफ्नै भूमिमा अनुमति दिन्छौं भने त्यो अक्षम्य हो।

सरकार अब मौन बस्न मिल्दैन। यस्ता गतिविधि भविष्यमा दोहोरिन नदिने ठोस आश्वासन चीनलाई दिनुपर्छ। यस घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ र जिम्मेवारलाई कारबाही गर्नुपर्छ। आफ्नै मुखले एकचीन नीति स्वीकार गरेर, आफ्नै पहलमा चीनसँग मित्रता गाँसेर अर्को हातले त्यसै नीतिलाई धोका दिनु राष्ट्रिय विश्वासघात हो।

यो समय हो कि हामीले आफ्नो परराष्ट्र नीतिको दिशा स्पष्ट पार्नुपर्ने। हामी चीनको मित्र हौं वा उसको राष्ट्रिय हितको विपरीत जाने गतिविधिलाई प्रश्रय दिने देश भन्ने प्रश्नको जवाफ स्पष्ट हुनुपर्छ। नेपालको भूमि कसैको विरुद्धमा प्रयोग हुन दिइँदैन, र हामी एकचीन नीतिमा अटल छौं भन्ने सन्देश दिनुपर्छ। यो हाम्रो राष्ट्रिय हित हो, यो हाम्रो कूटनीतिक औचित्य हो, र यो हाम्रो छिमेकीप्रतिको सम्मान हो। सरकार अब जागा होस् र राष्ट्रको सम्मान जोगाउन ढिलो नगरोस्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button