२५ असार २०८३, बिहीबार

दलाई लामा जन्मोत्सव अनुमतिबारे एमालेको आपत्ति, सरकारसँग जवाफ माग

ड्रागन मिडिया समाचार कक्ष

प्रतिपक्षी दल नेकपा एमालेले सरकारले एक–चीन नीति विपरीतका गतिविधिलाई प्रश्रय दिएको आरोप लगाउँदै आपत्ति जनाएको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्।

महरले असार २२ गते आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आँच पुर्‍याएको आरोप लगाए। उनले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।

उनले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकार अघि बढेको आरोप लगाए। महरका अनुसार यस्तो गतिविधिले नेपालको घोषित परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, असंलग्नता र छिमेकीसँगको संवेदनशील सम्बन्धमाथि प्रश्न उठाएको छ।

महरले चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले समेत विज्ञप्तिमार्फत दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिताप्रति आपत्ति जनाएको स्मरण गराए। उनले यस्ता गतिविधिप्रति सरकारको मौनता र प्रशासनिक भूमिकाले सरकारको नियतमाथि नै प्रश्न उठाएको दाबी गरे।

प्रतिनिधि सभामा बोल्दै महरले भने, “पश्चिमा शक्तिहरू नेपाललाई चीनविरोधी अखडा बनाउन र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रमा लागिरहेको यस घटनाले पुष्टि गरेको छ। के वर्तमान सरकार एक–चीन नीतिको विरुद्धमा उभिएको हो? के सरकारले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई परित्याग गरेको हो? यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्छ।”

महरले परराष्ट्र नीतिका विषयमा सरकारले केटाकेटीपन देखाएको टिप्पणी गरे। उनले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई खेलौनाको रूपमा नलिन र नेपालको सर्वोपरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराए।

एमाले प्रमुख सचेतक महरले नेपालले लामो समयदेखि एक–चीन नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै त्यसविपरीत देखिने कुनै पनि गतिविधिले नेपालको कूटनीतिक विश्वसनीयतामा असर पार्न सक्ने बताए। उनले छिमेकी राष्ट्रसँगको सम्बन्धमा संवेदनशील, गम्भीर र जिम्मेवार व्यवहार आवश्यक रहेकोमा जोड दिए।

दलाई लामाको जन्मोत्सव कार्यक्रमलाई लिएर यसअघि चीनका लागि नेपालका पूर्वराजदूतहरूले पनि आपत्ति जनाएका थिए। उनीहरूले नेपालले आफ्नो भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि दलाई लामासम्बन्धी गतिविधिमा विदेशी कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति गम्भीर र आपत्तिजनक रहेको टिप्पणी गरेका थिए। उनले नेपालले एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धता व्यवहारमै स्पष्ट देखाउनुपर्ने बताएका थिए।

सरकारका तर्फबाट यस विषयमा प्रतिनिधि सभा बैठकमा तत्काल विस्तृत जवाफ आएको छैन। प्रतिपक्षी एमालेले भने दलाई लामाको जन्मोत्सव कार्यक्रम, त्यसमा सरकारी अनुमति भएको हो कि होइन भन्ने विषय, विदेशी कूटनीतिक प्रतिनिधिहरूको सहभागिता र नेपालको एक–चीन नीतिको कार्यान्वयनबारे सदनमा स्पष्ट धारणा राख्न सरकारसँग माग गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button