२५ असार २०८३, बिहीबार

जेनजी आन्दोलनका बेला चोरी भएको सरकारी स्कार्पियो १० महिनापछि बरामदजेनजी आन्दोलनका बेला चोरी भएको सरकारी स्कार्पियो १० महिनापछि बरामद

ड्रागन मिडिया समाचार कक्ष

जेनजी आन्दोलनका बेला चोरी भएको सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयको सरकारी स्कार्पियो गाडी करिब १० महिनापछि बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका ५ बाट ४ देखि ५ जनाको समूहले बा. २ झ २८५९ नम्बरको सरकारी स्कार्पियो चोरी गरी लगेको थियो।

प्रहरीले खोजतलासका क्रममा २०८३ असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका २ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट उक्त गाडी बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको स्कार्पियोको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला परेको हो। गाडीको चेसिस नम्बर, इन्जिन नम्बर, नम्बर प्लेट तथा बाहिरी स्वरूप परिवर्तन गरेर प्रयोग भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अर्जुन कार्कीलाई पक्राउ गरेको छ। उनीमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक तिमिल्सिनाका अनुसार सवारी लुटपाट गर्ने समूहले उक्त स्कार्पियो कार्कीलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार्कीले गाडीको स्वरूप परिवर्तन गरी चलाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

“गाडीको चेसिस नम्बर, इन्जिन नम्बर, नम्बर प्लेट तथा बाहिरी स्वरूप परिवर्तन गरेर चलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा सवारी बरामद गरेका हौं,” प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले भने, “अहिलेसम्म एक जना पक्राउ परेका छन्। अन्य संलग्न व्यक्तिहरूको खोजी जारी छ।”

प्रहरीले चोरीमा संलग्न भनिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। बरामद गाडी र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सरकारी सवारी साधन चोरी भएर लामो समयसम्म लुकाइने र स्वरूप परिवर्तन गरी चलाइने घटनाले सार्वजनिक सम्पत्तिको सुरक्षा, आन्दोलनका बेला सरकारी साधनको दुरुपयोग तथा सवारी पहिचान प्रणालीको प्रभावकारिताबारे पनि प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button