नवनियुक्त मुख्यसचिव कार्कीको स्वागत, निवर्तमान अर्यालको बिदाइ

ड्रागन मिडिया समाचार कक्ष
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ।
सोही कार्यक्रममा असार २६ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका निवर्तमान मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ गरिएको छ। अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे।
समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मालगायत प्रधानमन्त्रीको सचिवालयका सदस्य, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी सहभागी थिए।
निवर्तमान मुख्यसचिव अर्यालले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्यसचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी र सुरक्षा निकायको सहयोगले आफ्नो कार्यकाल पूरा गर्न सकेको बताए।
उनले निजामती प्रशासन राज्य सञ्चालनको स्थायी संरचना भएकाले कठिन परिस्थितिमा पनि संयम, समन्वय र जिम्मेवारीका साथ काम गर्नुपर्ने उल्लेख गरे। अर्यालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै निकाय, सहकर्मी र कर्मचारीप्रति आभार व्यक्त गरे।
समारोहमा प्रधानमन्त्री शाहका तर्फबाट राजनीतिक सल्लाहकार असीम शाहले निवर्तमान मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरे। शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा यसको भूमिका महत्त्वपूर्ण हुने बताए।
सल्लाहकार शाहले सार्वजनिक सेवामा गरेको योगदान अवकाशसँगै समाप्त नहुने उल्लेख गर्दै अर्यालको अनुभव, ज्ञान र कार्यशैलीलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने बताए। उनले नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन थप प्रभावकारी, सक्षम र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।
नवनियुक्त मुख्यसचिव कार्कीले आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन, निजामती सेवा र राष्ट्रको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।
कार्कीले प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता, सुशासन, पारदर्शिता र नागरिकमैत्री सरकारी प्रणालीलाई आफ्नो प्राथमिकतामा राख्ने संकेत गरे। उनले निजामती प्रशासनलाई जनअपेक्षासँग जोडेर परिणाममुखी बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारी र विभिन्न मन्त्रालयका सचिवहरूले निवर्तमान मुख्यसचिव अर्यालको नेतृत्व, योगदान र समर्पणप्रति आभार व्यक्त गरे। उनीहरूले नवनियुक्त मुख्यसचिव कार्कीलाई सफल कार्यकालको शुभकामना पनि दिएका थिए।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो। निवर्तमान मुख्यसचिव अर्याल उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।





