सैनिक वार कलेज टोलीद्वारा विराटनगर महानगरको अध्ययन भ्रमण

ड्रागन मिडिया समाचार कक्ष
नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन भ्रमण गरेको छ।
सहायक रथी कमल बानियाँको नेतृत्वमा आएको सैनिक टोलीले महानगरपालिकाको सेवा प्रवाह, सुशासन, विपद व्यवस्थापन, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, पूर्वाधार विकास तथा संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयका अभ्यासबारे जानकारी लिएको हो।
अध्ययन भ्रमणका क्रममा टोलीले स्थानीय सरकारको संस्थागत क्षमता, नागरिक सेवा प्रणाली, राजस्व व्यवस्थापन, शहरी व्यवस्थापन, स्थानीय आर्थिक गतिविधि, सीमा व्यापार, लगानी प्रवर्द्धन र सुरक्षा निकायसँगको समन्वयका विषयमा अन्तरक्रिया गरेको थियो।
कार्यक्रममा सहायक रथी बानियाँले स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनविश्वास र सेवा पहुँचका दृष्टिले यसको भूमिका महत्त्वपूर्ण रहेको बताए। स्थानीय सरकारले जनतालाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले महानगरले डिजिटल प्रविधिमार्फत सेवा प्रवाह, सुशासन, राजस्व व्यवस्थापन, पूर्वाधार विकास, विपद तयारी र नागरिकमुखी प्रशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जानकारी दिए।
उनले स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन महानगरले विभिन्न सुधारका काम अघि बढाएको बताए।
अध्ययन भ्रमणले स्थानीय सरकारको कार्यप्रणाली, जनसेवा प्रणाली, विपद व्यवस्थापन, स्थानीय तहको प्रशासनिक संरचना र सुरक्षा निकायसँगको समन्वयलाई नजिकबाट बुझ्ने अवसर दिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा महानगर प्रहरी प्रमुख राजन पौडेलले सहजीकरण गरेका थिए। शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया र राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको प्रशासनिक संरचना, शिक्षा, राजस्व परिचालन, स्थानीय शासन र विकास व्यवस्थापनका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए।
सोही क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले स्थानीय आर्थिक गतिविधि, सीमा व्यापार, लगानी प्रवर्द्धन र शहरी व्यवस्थापनमा महानगरले खेलेको भूमिकाबारे जानकारी गराएका थिए।
सहायक रथी बालकृष्ण कार्कीका अनुसार सोही तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले यसअघि कोशी प्रदेश सरकार र कोशी प्रदेश प्रहरी कार्यालयको समेत अध्ययन भ्रमण सम्पन्न गरिसकेको छ।
विराटनगर भारतसँगको सीमा क्षेत्रमा अवस्थित कोशी प्रदेशको महत्त्वपूर्ण औद्योगिक, व्यापारिक, प्रशासनिक र शहरी केन्द्र भएकाले स्थानीय शासन, सीमा व्यवस्थापन, विपद तयारी र सुरक्षा समन्वयका दृष्टिले यसको अध्ययन महत्त्वपूर्ण मानिएको छ।
नेपाली सैनिक वार कलेजको अध्ययन भ्रमणले सैन्य नेतृत्व तहका प्रशिक्षार्थीहरूलाई स्थानीय शासन प्रणाली, नागरिक सेवा, प्रशासनिक समन्वय, आपतकालीन तयारी र प्रदेशस्तरीय सुरक्षा व्यवस्थापनबारे व्यावहारिक अनुभव दिने उद्देश्य राखेको बताइएको छ।





