२६ असार २०८३, शुक्रबार

भरतपुर अस्पतालले जिल्लाका सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने

ड्रागन मिडिया समाचार कक्ष

बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले चितवनका सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ।

अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये उपयुक्त स्वास्थ्य संस्थाबाट भरतपुर अस्पतालका चिकित्सकमार्फत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो। स्थानीय तहमै विशेषज्ञ सेवा विस्तार गरेर भरतपुर अस्पतालमा देखिएको अत्यधिक भीड कम गर्ने र नागरिकलाई नजिकैबाट सेवा उपलब्ध गराउने अस्पतालको लक्ष्य छ।

यसका लागि अस्पतालले पालिकाका प्रमुखहरूसँग छलफल अघि बढाइसकेको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर स्वास्थ्य चौकीको स्थलगत अध्ययन गरेका छन्।

डा बगालेले शारदानगर स्वास्थ्य चौकीमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताए। भरतपुर महानगरपालिका सकारात्मक देखिएकाले छिट्टै सेवा अघि बढाउने उनको भनाइ छ।

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि छलफल भइरहेको भन्दै डा बगालेले अन्य पालिकासँग समेत आवश्यक समन्वय भइरहेको जानकारी दिए। पालिका पालिकामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पुगेपछि अस्पतालमा आउने बिरामीको घुइँचो कम हुने उनको विश्वास छ।

“स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा दिने तयारी भइरहेको छ,” डा बगालेले भने। उनका अनुसार पालिकास्थित अस्पतालहरूमा प्राथमिक तथा विशेषज्ञ सेवा उपलब्ध गराइनेछ भने भरतपुर अस्पतालले अति विशिष्टीकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्नेछ।

डा बगालेले सामान्य स्वास्थ्य समस्या लिएर भरतपुर अस्पताल नै आउनुपर्ने बाध्यता अन्त्य गर्न यो अभियान शुरु गरिएको बताए। सबै पालिका सकारात्मक भएमा दुई वर्षभित्र भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टीकृत सेवामा केन्द्रित हुन सकिने उनको भनाइ छ।

उनका अनुसार भरतपुर अस्पतालमा दैनिक बहिरङ्ग सेवाका लागि तीन हजारसम्म बिरामी आउने गरेका छन्। सामान्य समस्या लिएरसमेत बिरामी अस्पताल आउँदा व्यवस्थापनमा जटिलता थपिएको छ भने बिरामीले पनि लामो प्रतीक्षा र भीडको सास्ती भोग्नुपरेको छ।

अस्पतालले विस्तारित सेवा प्रभावकारी भएमा यो अभियानलाई देशभर विस्तार गर्न सकिने बताएको छ। डा बगालेका अनुसार भरतपुर अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बिमाका हुने भएकाले स्थानीय तहबाटै सेवा विस्तार हुँदा बिमाका बिरामीलाई पनि सहज हुने अपेक्षा गरिएको छ।

शारदानगर स्वास्थ्य चौकीलाई स्याटलाइट अस्पतालका रूपमा विकास गर्ने तयारीलाई भरतपुर अस्पतालको सेवा विकेन्द्रीकरणको प्रारम्भिक अभ्यासका रूपमा हेरिएको छ। औपचारिक सम्झौता भएपछि त्यहाँबाट विशेषज्ञसहितको नियमित सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ।

भरतपुर अस्पतालले यो योजनालाई स्वास्थ्य सेवा पहुँच, भीड व्यवस्थापन, स्थानीय तहसँगको समन्वय र विशिष्टीकृत उपचार सेवाको प्रभावकारितासँग जोडेर अघि बढाएको छ। अस्पताल प्रशासनका अनुसार सामान्य र प्राथमिक प्रकृतिका बिरामीलाई स्थानीयस्तरमै सेवा दिन सके भरतपुर अस्पतालले जटिल तथा अति विशिष्टीकृत उपचारमा थप ध्यान दिन सक्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button