२६ असार २०८३, शुक्रबार

मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौँसम्म पैदल मार्च शुरू

ड्रागन मिडिया समाचार कक्ष

मिटरब्याज तथा वित्तीय शोषणबाट पीडितहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले जनकपुरधामदेखि काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका छन्।

देशका विभिन्न स्थानबाट जनकपुरधाम पुगेका पीडितहरूले बिहीबार तिरहुतिया गाछी मैदानबाट पैदल यात्रा शुरू गरेका हुन्। मार्च शुरू गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाउनुका साथै मशाल बालेर आन्दोलनको शुभारम्भ गरेका थिए।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यसपटकको संघर्ष निर्णायक र अन्तिम हुने बताएका छन्।

उनले प्रधानमन्त्री बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाट गरेको सम्बोधनमा मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि सरकार गठन भएको १०० दिन बितिसक्दा समेत आफूहरूका मागप्रति बेवास्ता गरिएको आरोप लगाए।

सेन्चुरीका अनुसार मिटरब्याज पीडित र सरकारबीच यसअघि चारपटक सहमति भए पनि ती सहमति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। पटकपटक भएका सहमति कार्यान्वयन नभएकाले अन्तिम प्रयासका रूपमा पुनः पैदल मार्च गर्नुपरेको उनले बताए।

उनले आन्दोलनकारी काठमाडौँ पुगेर सरकारविरुद्ध थप आन्दोलनमा उत्रिनुअघि नै सरकारले माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

देशभर छरिएर रहेका मिटरब्याज पीडितलाई काठमाडौँसम्मको पैदल यात्रामा सहभागी हुन पनि उनले आह्वान गरेका छन्।

पीडितहरूले फर्जी तमसुक खारेज गर्नुपर्ने, अनुचित लेनदेनसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन गर्नुपर्ने, पीडितको सम्पत्ति फिर्ता गर्नुपर्ने र विगतमा सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button