बक्यौता रकम बुझाउन भक्तपुर शाखालाई नेपाल रेडक्रसको २१ दिने निर्देशन

ड्रागन मिडिया समाचार कक्ष
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको ४५ लाख ७१ हजार ८२० रुपैयाँ २१ पैसा २१ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा हस्ताक्षरित पत्रमार्फत भक्तपुर शाखाका नाममा देखिएको उक्त बक्यौता रकम निर्धारित समयसीमाभित्र केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न भनिएको हो।
पत्रमा सन् २०१५ देखि हालसम्म भक्तपुर शाखाले बुझाउनुपर्ने रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ। विगतमा विभिन्न निकायबाट भएका अध्ययन तथा छानबिन, समाज कल्याण परिषद्को निर्णय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राप्त निर्देशनका आधारमा बक्यौता रकम भुक्तानी गर्न ताकेता गरिएको जनाइएको छ।
पत्रमा भनिएको छ, “विगतदेखि हालसम्म बुझाउन बाँकी रहेको उक्त रकम यो पत्र प्राप्त भएको मितिले २१ दिनभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाणसहित जानकारी गराउन निर्देशन गरिन्छ।”
निर्धारित समयसीमाभित्र बक्यौता रकम जम्मा नगरे प्रचलित कानुन तथा संस्थागत व्यवस्थाअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने केन्द्रीय कार्यालयले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटीको नवगठित केन्द्रीय तदर्थ समितिले पछिल्लो समय संस्थाभित्र आर्थिक पारदर्शिता, सुशासन र संस्थागत सुधारलाई प्राथमिकतासाथ अघि बढाइरहेको छ। रेडक्रसकर्मीहरूले लामो समयदेखि बाँकी रहेका आर्थिक दायित्वको अभिलेख परीक्षण तथा असुली प्रक्रिया अघि बढाइएको कदमलाई संस्थागत अनुशासन र जवाफदेहितासँग जोडेर सकारात्मक रूपमा लिएका छन्।





