२६ असार २०८३, शुक्रबार

कर्णाली नदीमा बेपत्ता थप दुई जनाको शव फेला, मृतकको सङ्ख्या तीन पुग्यो

ड्रागन मिडिया समाचार कक्ष

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। योसँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मृतकका आफन्त घटनास्थलमा पुगेर शव बुझिसकेका छन्।

सनाखत हुनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा र मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन्। जेखे तिरुवाको शव यसअघि भीरमा फेला परेको थियो भने मेखे तिरुवा र खड्का बेपत्ताको सूचीमा थिए।

प्रहरी प्रमुख विकका अनुसार तीनै जनाको ठेगाना तथा विवरण पुष्टि भएपछि आफन्तले शव सनाखत गरेका हुन्।

सवारी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ एवं सहचालक रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ।

बेपत्ता दाजुभाइका काका डिल्ली सुवेदीका अनुसार घरका मुख्य सहारा नै नदीमा बेपत्ता भएपछि परिवार, आफन्त र छरछिमेक गहिरो शोकमा छन्।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गत बिहीबार सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित संयुक्त सुरक्षा निकायले नदी तथा आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी जारी राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button