गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक, वीर अस्पतालमा विशेष टोलीद्वारा उपचार

ड्रागन मिडिया समाचार कक्ष
जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको वीर अस्पतालले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका चिकित्सकहरूले नेपालीको अवस्था अझै अस्थिर रहेको र जुनसुकै बेला थप जटिल बन्न सक्ने जानकारी दिएका छन्। अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार नेपालीलाई बचाउन उपलब्ध सबै सम्भावित उपचार प्रयास जारी राखिएको भए पनि उनको अवस्था संवेदनशील छ। हाल उनी वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले जानकारी दिएका छन्।
नेपालीको उपचारका लागि वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ।
उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीलगायत सहभागी छन्।
नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले जनाएको छ। चिकित्सकहरूले बिरामीलाई स्थानान्तरण गर्नुअघि स्वास्थ्य अवस्था आवश्यक रूपमा स्थिर हुनुपर्ने बताएका छन्।
नेपाली बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।





