प्रधानमन्त्री शाहलाई कांग्रेसको चुनौती : आत्मदाह सिलसिला रोक्न नसक्ने, राज्य किन मौन ?

ड्रागन मिडिया समाचार कक्ष
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौं त्रिपुरेश्वरमा बिहीबार आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको निधनप्रति प्रधानमन्त्री वालेन्द्र शाहको मौनताको कडा आलोचना गर्दै स्पष्टीकरण माग गरेको छ। विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने शाह आफैं सरकारको नेतृत्वमा पुगेपछि भने किन मौन बस्नुभएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह गरेको हो।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको आत्मदाह घटनामा राज्यको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्री शाहले विगतमा आत्मदाह घटनामा गरेको टिप्पणी स्मरण गराइन्। ‘म तपाईंकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ ? यदि होइन भने यस्ता घटना किन पटकपटक दोहोरिइरहेका छन्। अब कालो चश्मा खोल्ने बेला आएको छ,’ थापाले भनिन्।
कांग्रेसले सन् २०७९ माघमा बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन मेयर शाहले सरकारको विरोध गरेको विषय पनि स्मरण गराएको छ। सामाजिक सञ्जालमार्फत शाहले तत्कालीन सरकारको चर्को आलोचना गरेको भन्दै थापाले भनिन्, ‘हिजोको घटना (गणेश नेपालीको निधन) मा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ?’
महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि आत्मदाह गरेका नेपालीमाथि सुरक्षाकर्मीले गरेको व्यवहारको पनि थापाले कडा आलोचना गरिन्। ‘राज्य आतंकबाट एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुकदर्शक बन्यो। शरीर आगोमा दन्किइरहेको छ, राज्यले एम्बुलेन्स नपठाएर बरु प्रहरी लगाएर अपराधीझैं घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु – यो उद्दार हो कि गिरफ्तारी ?,’ उनले भनिन्।
थापाले सरकार जनताको पक्षमा काम गर्नुभन्दा पनि सामाजिक सञ्जालमा आफ्ना कन्टेन्टको पछि लागेको आरोप लगाइन्। ‘सरकार जनतालाई बचाउनेभन्दा पनि सामाजिक सञ्जाल डिजिटल मोहमा मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बनाउने ध्याउन्नमा केन्द्रित छ,’ उनले भनिन्, ‘देशले आशा गरेको भनिएको नयाँ सरकार आउँदा पनि यो सिलसिला रोकिएको छैन।’
काठमाडौंका खोला किनाराका सुकुम्बासी बस्ती उठाउँदा १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको घटना पनि थापाले स्मरण गराउँदै सरकारको संवेदनशीलताको कमीमाथि प्रश्न उठाइन्। सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा गरेको टिप्पणीको पनि उनले आलोचना गरिन्।
कांग्रेसले यी घटनाले सरकारको संवेदनशीलता र क्षमतामाथि गम्भीर प्रश्न उठेको भन्दै प्रधानमन्त्री शाहलाई संसदमै आएर जवाफ दिन माग गरेको छ।





