कांग्रेस सभापतिको आत्मदाह प्रकरणमा आत्मचिन्तनको आह्वान : ‘यो दोषारोपणको विषय होइन’

ड्रागन मिडिया समाचार कक्ष
नेपाली कांग्रेसका सभापतिले गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताउँदै यसले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन्। उनले यस घटनालाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षणका रूपमा वर्णन गरेका छन्।
सभापतिले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।’
उनले कठिन घडीमा गणेश आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्दै भने, ‘उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौं र सक्दो सहयोग गरौं। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔं।’
यस्ता घटना दोहोरिनाले आफैंसँग केही कठिन प्रश्न सोध्नैपर्ने बताउँदै उनले भने, ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं ?’
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उनको भनाइ छ।





