मुगुका गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, ‘हत्यारा सरकार मुर्दावाद’ नारा

ड्रागन मिडिया समाचार कक्ष
मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन्। बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका नेपालीको आज उपचारका क्रममा निधन भएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।


प्रदर्शनका क्रममा उनीहरूले ‘हत्यारा सरकार मुर्दावाद, बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ लगायतका नाराबाजी गर्दै नेपालीको मृत्युको जिम्मेवार सरकार भएकाले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेका छन्।



प्रदर्शनकारीहरूलाई माइतीघरबाट वीर अस्पतालतर्फ जाँदै गर्दा भद्रकालीमा प्रहरीले ब्यारिकेड लगाएर रोकेको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका छन्।
मुगुको सोरु गाउँपालिका–१ का नेपालीले राहदानी विभाग अगाडि आफूमाथि आगो लगाएका थिए। उनको उपचारका क्रममा आज बिहान निधन भएको हो। उनको मृत्युपछि सामाजिक सञ्जालमा समेत शोक र आक्रोश व्यक्त गरिँदै सरकारको ध्यानाकर्षण गराइएको छ।





