एमाले सांसद सुव्वाको माग : गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

ड्रागन मिडिया समाचार कक्ष
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सूरको प्रकृति र गम्भीरतालाई ख्याल नगरी हचुवाका भरमा गरिएको जरिवाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरिन्।
सांसद सुव्वाले नेपालीको मृत्युले राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि गम्भीर प्रश्न उठेको धारणा राखिन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन्।
साथै उनले नयाँ र पुरानोबीच कृत्रिम विभाजनको भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइन्। उनले यस्तो विभाजनले समाजमा थप दरार सिर्जना गर्ने र वास्तविक मुद्दाहरू ओझेलमा पर्ने भन्दै सबैलाई एकताबद्ध भई यस्ता घटनाको सामूहिक समाधान खोज्न आग्रह गरिन्।
गणेश नेपालीको आत्मदाह र त्यसपछिको मृत्युले देशभर शोक र आक्रोश सिर्जना गरेको छ। विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरिरहेका छन्।





