नेकपाको सरकारलाई प्रश्न : गरिब, विपन्न, सुकुम्बासीप्रतिको व्यवहार के हो ?

ड्रागन मिडिया समाचार कक्ष
प्रमुख प्रतिपक्षी नेकपाले सरकारले गरिब, विपन्न र सुकुम्बासीप्रति गरेको व्यवहारको कडा आलोचना गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपाका नेता वर्षमान पुनले ट्राफिक प्रहरीको गलत व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको घटनालाई उद्धृत गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
पुनले भने, ‘यो के राज्यको असफलता हो ? या गरिब, दुःखी, विपन्न, सुकुम्बासीहरू यो राजधानी, संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु।’
उनले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा महानगर प्रमुखका रूपमा वालेन्द्र शाहले गरेको टिप्पणी स्मरण गराए। त्यसबेला शाहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्, एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्, एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
पुनले प्रधानमन्त्री शाहलाई विपक्षमा हुँदा उठाएको त्यही प्रश्नको जवाफ आफैं सत्तामा पुगेपछि दिन नसकेको भन्दै आलोचना गरे। यस्ता घटनाले सरकारको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको बताउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग गरे।





