राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ।
बैठकमा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले मुगुका गणेश नेपाली गम्भीर घाइते भएको घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको राजीनामा माग गरेका हुन्।
विश्वकर्माले सरकारको कार्यशैली र महानगर प्रहरीको व्यवहारका कारण उक्त घटना भएको आरोप लगाए। उनले नैतिक जिम्मेवारी स्वीकार नगरी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए।
“यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा दिनुपर्छ,” उनले बैठकमा भने।
उनले घटनास्थलमा खटिएका सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठाउँदै गणेश नेपालीलाई तत्काल उद्धार र उपचारमा पुर्याउने क्रममा संवेदनशीलता नदेखाइएको आरोप लगाए।
विश्वकर्माले घटनामा संलग्न नगर प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षाकर्मीको भूमिकाबारे निष्पक्ष छानबिन गरी दोषी पाइए कडाभन्दा कडा कारबाही गर्न माग गरे।
गणेश नेपाली बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर घाइते भएका थिए। उनको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा काठमाडौँ महानगरपालिकाका दुई महिला र एक पुरुष नगर प्रहरीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनाको वास्तविक समयक्रम, ह्विल लक कारबाहीको कानुनी आधार, नगर प्रहरीको व्यवहार तथा उद्धार प्रक्रियाबारे अनुसन्धान जारी छ।
सांसद विश्वकर्माले घटनालाई सामान्य प्रशासनिक विवादका रूपमा मात्र नहेरी राज्यका निकायको नागरिकप्रतिको व्यवहार, जवाफदेहिता र मानवीय संवेदनशीलतासँग जोडेर छानबिन गर्नुपर्ने बताए।





