दक्षिण–पूर्वी एसियाका अनलाइन स्क्यामिङ केन्द्रबाट ८३६ नेपालीको उद्धार

ड्रागन मिडिया समाचार कक्ष
दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा फसेका नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट आठ र थाइल्याण्डबाट छ जना नेपालीको उद्धार गरिएको छ।
प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको जानकारी दिए। हालसम्म ६०२ जना नेपालीको भिसासम्बन्धी शुल्क र जरिवाना मिनाहा गरिएको उनले बताए।
कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका केही नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कनका लागि आवश्यक पहल गरिदिन परराष्ट्र मन्त्रालयले विशेष आग्रह गरेको छ।
मन्त्रालयका अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर दक्षिण–पूर्वी एसियाका विभिन्न क्षेत्रमा पुर्याइएका नेपालीलाई अनलाइन ठगी, डिजिटल आर्थिक अपराध र अन्य गैरकानुनी गतिविधिमा जबर्जस्ती संलग्न गराउने जोखिम देखिएको छ। मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक निकायबाट रोजगारदाता, भिसा र श्रम स्वीकृतिसम्बन्धी विवरण पुष्टि गर्न आग्रह गर्दै आएको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रम सरकारको प्राथमिकताको महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको बताए।
उनले नेपाल सरकार एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपालको भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा सरकार अडिग रहेको बताए।
विभिन्न देशमा राजदूत नियुक्तिको विषय प्रक्रियामा रहेको उल्लेख गर्दै उनले यससम्बन्धी प्रगतिबारे आगामी दिनमा जानकारी गराइने बताए।





