२६ असार २०८३, शुक्रबार

सगरमाथा क्षेत्रमा ८,८६१ मिटर उचाइसम्म ओजोन मापनमा चिनियाँ वैज्ञानिकको सफलता

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ वैज्ञानिक टोलीले चोमोलाेङ्मा अर्थात सगरमाथा क्षेत्रमा जमिनदेखि ८,८६१ मिटर उचाइसम्मको ओजोनको ठाडो वितरण मापन गर्न सफल भएको छ। उन्नत भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ क्षमतायुक्त फिक्स्ड विङ हाइब्रिड ड्रोन प्रयोग गरेर गरिएको यो मापन उच्च हिमाली वातावरणीय अनुसन्धानका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

पेकिङ विश्वविद्यालय र चिनियाँ विज्ञान एकेडेमीको संयुक्त वैज्ञानिक टोलीले चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित सगरमाथाको उत्तरी ढलानमा १२ दिनसम्म क्षेत्रगत अनुसन्धान गरेको थियो। सो अवधिमा टोलीले ३२ वटा प्रभावकारी ड्रोन उडान सम्पन्न गरेको जनाइएको छ।

अनुसन्धानका क्रममा ड्रोनले दुईपटक ८,८४८ मिटरभन्दा माथिको उचाइ पार गरेको थियो। तीमध्ये एक उडानमा ड्रोनले वैज्ञानिक उपकरण बोकेर ८,८६१ मिटरको स्थिर उचाइ हासिल गरेको पेकिङ विश्वविद्यालयका सहप्राध्यापक ये छुनस्याङले बताएका छन्।

वैज्ञानिक टोलीले ओजोनको ठाडो वितरण मात्र मापन गरेको छैन, हिमनदीय हावाले माथिल्लो वायुमण्डलबाट ओजोनलाई जमिनतर्फ सार्ने सम्पूर्ण प्रक्रिया पनि अवलोकन गरेको छ। यस उपलब्धिले छिङहाई तिब्बत पठार क्षेत्रमा उच्च सान्द्रताको ओजोन र त्यसको परिवर्तनशील प्रवृत्ति अध्ययनका लागि महत्वपूर्ण प्रत्यक्ष प्रमाण थपेको वैज्ञानिकहरूले बताएका छन्।

ओजोनको परिवर्तन वातावरणीय विकास र वायुमण्डलीय अवस्थाको महत्वपूर्ण सूचक मानिन्छ। तुलनात्मक रूपमा स्वच्छ वायुमण्डलीय पृष्ठभूमि भएकाले छिङहाई तिब्बत पठारलाई युरेसियाली महादेशको वायुमण्डलीय परिवर्तन बुझ्ने प्राकृतिक प्रयोगशालाका रूपमा हेर्ने गरिएको छ।

यसअघि वैज्ञानिकहरूले हिमनदीय हावाले माथिल्लो वायुमण्डलबाट ओजोनलाई पृथ्वीको सतहतर्फ ल्याउन सक्ने संकेत पाएका थिए। तर हिमनदीय हावाको फैलावट, त्यसले बोकेको ओजोन प्रवाह र उच्च हिमाली क्षेत्रमा हुने प्रत्यक्ष वायुमण्डलीय प्रक्रियाबारे व्यवस्थित तथ्याङ्कको अभाव थियो। उपकरणसम्बन्धी सीमाका कारण यस्तो मापन चुनौतीपूर्ण रहँदै आएको थियो।

वैज्ञानिक टोलीले ड्रोन निर्माता डीजेआईसँग मिलेर उच्च उचाइमा उडानका लागि आवश्यक प्राविधिक सुधार गरेको थियो। पातलो हावा, तापक्रमको ठुलो अन्तर र तीव्र अशान्त हावाको सामना गर्न ड्रोनको कार्यक्षमता सुधार गरिएको जनाइएको छ।

नयाँ ड्रोनले बहुरोटर र फिक्स्ड विङ प्रविधिका विशेषता एकीकृत गरेको छ। यसबाट ठाडो रूपमा उडान र अवतरण गर्न सकिने, लामो दूरीसम्म स्थिर उडान कायम राख्न सकिने र चरम उचाइमा पनि वैज्ञानिक उपकरणसहित मापन गर्न सकिने क्षमता विकास भएको छ।

अनुसन्धान टोलीका अनुसार ८,८६१ मिटर उचाइमा प्राप्त तथ्याङ्कको वास्तविकता र प्रतिनिधित्व सुनिश्चित गर्न ड्रोनको उडान प्रणाली, भार वहन क्षमता र तथ्याङ्क सङ्कलन प्रक्रियामा विशेष सावधानी अपनाइएको थियो। यसले भविष्यमा उच्च हिमाली तथा चरम वायुमण्डलीय वातावरणमा ड्रोन आधारित वैज्ञानिक अनुसन्धानलाई थप विस्तार गर्ने आधार तयार गरेको छ।

यो उपलब्धि जलवायु परिवर्तन, उच्च हिमाली वातावरण, प्रदूषणको लामो दूरीको प्रवाह, हिमनदीय हावा र पठारी वायुमण्डलीय प्रक्रियाबीचको सम्बन्ध बुझ्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूले यसलाई उच्च उचाइमा वातावरणीय अवलोकन गर्ने चीनको प्राविधिक तथा अनुसन्धान क्षमताको नयाँ चरणका रूपमा व्याख्या गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button