२६ असार २०८३, शुक्रबार

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद शर्माको माग

ड्रागन मिडिया समाचार कक्ष

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री गुरुङले संसदमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सांसदहरूले सदनमा उठाएका विषयलाई हलुका ढङ्गले लिन नमिल्ने बताए।

“सदनले सरकारलाई सदनमै खोज्ने हो। सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारले सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो,” शर्माले भने, “सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्च्याएको भनेर भन्न मिल्दैन।”

उनले गृहमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको भूमिकाप्रति अपमान भएको दाबी गरे। शर्माले उक्त अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन मागसमेत गरे।

“आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसदमा प्रस्तुत हुन र सांसदहरूका प्रश्नलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछु,” उनले भने।

सांसद शर्माले संसद जनताका प्रश्न सरकारसमक्ष पुर्‍याउने औपचारिक थलो भएकाले मन्त्रीहरूले सदनमा उठेका विषयलाई जिम्मेवार ढङ्गले जवाफ दिनुपर्नेमा जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button