२६ असार २०८३, शुक्रबार

गृहमन्त्री गुरुङको संसदमा भावुक सम्बोधन, गणेश नेपाली प्रकरणमा छानबिन समिति गठन

ड्रागन मिडिया समाचार कक्ष

गृहमन्त्री सुधन गुरुङले राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले उनलाई बचाउन अन्तिम समयसम्म प्रयास गरेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले गणेश नेपालीलाई उपचारका लागि भारत लैजान एयर एम्बुलेन्स तयार पारिएको, भारतीय पक्षसँग समन्वय गरिएको र सम्बन्धित चिकित्सकहरूसँग निरन्तर परामर्श भएको बताए। तर बिरामीको अवस्था स्थिर नभएकाले चिकित्सकीय सिफारिसका आधारमा स्थानान्तरण गर्न नसकिएको उनको भनाइ थियो।

गुरुङले आफूलाई घटनामा “स्टन्टबाजी” गरेको आरोप लगाइएकोप्रति आक्रोश व्यक्त गरे। उनले रातभरि अस्पताल, विमानस्थल, परराष्ट्र मन्त्रालय, भारतीय दूतावास र चिकित्सकीय टोलीसँग समन्वय भएको दाबी गर्दै नागरिकको जीवन बचाउन सरकारले कुनै कसर बाँकी नराखेको बताए।

उनले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक संघीय सरकार वा ट्राफिक प्रहरीले नभई स्थानीय सरकारअन्तर्गतको नगर प्रहरीले लगाएको दाबी गरे। ट्राफिक जरिवाना र कारबाहीसम्बन्धी नियम संघीय गृह मन्त्रालयले नभई सम्बन्धित कानुन र निकायले निर्धारण गर्ने भएकाले गृह मन्त्रालयले कानुन कार्यान्वयन मात्र गर्ने उनको भनाइ थियो।

गुरुङले विगतका सरकारहरूले बनाएका कानुन कार्यान्वयन गर्दा वर्तमान सरकारमाथि आरोप लगाइएको बताए। कालो सिसा, ट्राफिक जरिवाना र ह्वील लकजस्ता विषयमा सरकारले नयाँ व्यवस्था नल्याएको, विद्यमान कानुन र प्रक्रियामा टेकेर काम गरिरहेको उनले स्पष्ट पारे।

गणेश नेपाली प्रकरणको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्रीले जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

गुरुङले छानबिन निष्पक्ष हुने र दोषी देखिए जोकोहीमाथि कारबाही हुने बताए। राज्यको दायित्व नागरिकको जीवन रक्षा गर्नु भएको उल्लेख गर्दै उनले घटनालाई राजनीतिकरण नगर्न विपक्षी दललाई आग्रह गरे।

संसदमा विपक्षी सांसदहरूले सरकारको कार्यशैली, ट्राफिक कारबाही, गणेश नेपालीको उपचार व्यवस्थापन र नागरिकमाथि राज्यको व्यवहारबारे प्रश्न उठाउँदै आएका थिए। त्यसको जवाफमा गुरुङले सदनमा मात्र चर्को आवाज उठाएर नागरिक सेवा नहुने भन्दै घटनास्थल र अस्पतालमा पुगेर पीडा बुझ्नु सरकारको जिम्मेवारी भएको बताए।

उनले हेलिकप्टर तथा उद्धार साधन प्रयोगबारे पनि सरकार जिम्मेवार रहेको दाबी गरे। विपद व्यवस्थापनमा हेलिकप्टर सधैँ समाधान नहुने र परिस्थितिअनुसार ड्रोन, उद्धार टोली तथा अन्य साधन प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। राज्यको पैसा आवश्यक अवस्थामा मात्र प्रयोग गर्नुपर्ने भन्दै उनले उद्धार निर्णय भावनामा होइन, व्यावहारिक अवस्थाको मूल्याङ्कनमा आधारित हुनुपर्ने बताए।

सम्बोधनका क्रममा गुरुङले आफ्ना शब्द चयनले कसैलाई चोट पुगेको भए माफी मागे। तर सरकारको नियत नागरिकको सेवा गर्नु र देशलाई राम्रो बनाउनु रहेको उनले दोहोर्‍याए।

उनले सत्ता र प्रतिपक्षभन्दा माथि उठेर देश निर्माणका लागि सहकार्य गर्न सांसदहरूलाई आग्रह गरे। नागरिकको पीडामाथि राजनीति नगरी कमजोरी भए सुधार गर्दै अघि बढ्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।

गुरुङले आफू युवा पुस्ताको प्रतिनिधिका रूपमा सरकारमा आएको उल्लेख गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले देश, नागरिक र संसदप्रति आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button