कोशी अस्पतालको जग्गा खाली गराउन २६ व्यावसायिक सटर भत्काइने

ड्रागन मिडिया समाचार कक्ष
कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन अस्पताल परिसरमा सञ्चालित २६ वटा व्यावसायिक सटर हटाउने तयारी गरेको छ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको जग्गामा निर्माण भएका संरचनामध्ये व्यावसायिक प्रयोजनका सटरहरूमा रातो चिह्न लगाइएको र ती संरचना हटाउन जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह गरिएको जानकारी दिए।
डा. झाले अस्पतालले कुनै संस्था वा व्यक्तिलाई नियतबस दुःख दिने उद्देश्यले नभई स्वास्थ्य उपचार सेवा विस्तारका लागि आफ्नै स्वामित्वको जग्गा प्रयोग गर्न खोजेको बताए। उनका अनुसार हाल सञ्चालनमा रहेका मुख्य भवनहरू तत्काल नभत्काइने भए पनि ती संस्थाले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका सटरहरू हटाइनेछन्।
अस्पताल प्रशासनका अनुसार गणेश मन्दिर परिसरका पाँच वटा, क्षयरोग निवारण संस्थाअन्तर्गतका नौ वटा, रक्तसञ्चार सेवा केन्द्रसँग जोडिएका छ वटा र देवकोटा पुस्तकालयअन्तर्गतका छ वटा सटर भत्काउने तयारी गरिएको छ।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले संरचना खाली गर्न दिइएको सात दिने अन्तिम म्याद आइतबार सकिने र त्यसपछि प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार अस्पतालले यसअघि पनि आफ्नो जग्गा खाली गराउन पहल गर्दै आएको भए पनि विभिन्न कारणले पूर्णता पाउन सकेको थिएन।
विराटनगर–७ स्थित कोशी अस्पतालको कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा रहेका जग्गामा अस्पताल स्थापना हुनुअघिदेखि नै विभिन्न सामाजिक तथा धार्मिक संस्था सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ। ती संस्थाले समयक्रममा भवन तथा सटर निर्माण गरी व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउँदै आएको अस्पतालको भनाइ छ।
अस्पताल प्रशासनले मुख्य रूपमा क्षयरोग निवारण संस्था, रक्तसञ्चार सेवा केन्द्र, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल भवन तत्काल नहटाइने स्पष्ट पारेको छ। तर ती संस्थाले अस्पतालको जग्गामा निर्माण गरी भाडामा लगाएका सटरहरू भने हटाउने तयारी गरिएको हो।
सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले केही दिनअघि कोशी अस्पतालको विवादित जग्गा तत्काल खाली गराउन निर्देशन दिएपछि अस्पताल प्रशासनले प्रक्रिया तीव्र बनाएको हो।
अस्पतालले उपचार सेवा विस्तारका लागि आफ्नै जग्गा आवश्यक भएको जनाएको छ। अस्पताल परिसरमा नयाँ संरचना, सेवा विस्तार र बिरामीमैत्री पूर्वाधार निर्माण गर्न सरकारी स्वामित्वको जग्गा खाली गराउनुपर्ने उसको तर्क छ।
कोशी अस्पतालको जग्गा खाली गराउने यो प्रक्रिया केवल भौतिक संरचना हटाउने विषय मात्र होइन, सरकारी स्वास्थ्य संस्थाको सम्पत्ति संरक्षण, सार्वजनिक जग्गाको उपयोग, सामाजिक संस्थाको पुरानो उपस्थिति र स्वास्थ्य सेवा विस्तारबीचको संवेदनशील प्रशासनिक विषयका रूपमा देखिएको छ।





