२७ असार २०८३, शनिबार

खुकुरी प्रहारबाट खोटाङमा एक जनाको मृत्यु, तीन पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

खोटाङमा घरायसी तथा आर्थिक विवादका क्रममा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएपछि एकै परिवारका तीन जना पक्राउ परेका छन्।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको बिहीबार खुकुरी प्रहारबाट मृत्यु भएको हो। घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो। उनकी श्रीमती र छोरीलाई भने मृतकका आफन्तले किटानी जाहेरी दिएपछि शुक्रबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक अधिकारी तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएका थिए। सोही क्रममा विवाद हुँदा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ। घटनापछि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मुख्य आरोपित तीलकबहादुर आफैँले फोन गरी प्रहरीसँग सम्पर्क गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबारसमेत रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button