दाउन्नेमा घट्यो यात्रुको सास्ती, नारायणघाट–बुटवल सडकको काम अन्तिम चरणमा

ड्रागन मिडिया समाचार कक्ष
गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारी जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो।
गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिँदा दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। बर्खा र हिउँद दुवै समयमा हजारौँ यात्रु घण्टौँसम्म सडकमै रोकिनुपर्ने अवस्था थियो। तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले विगतजस्तो सास्ती भोग्नुपरेको छैन।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष सडकको अवस्था सुधारिएपछि लामो समयसम्म सवारी अवरुद्ध हुने समस्या घटेको स्थानीयवासी, चालक र यात्रुहरूले बताएका छन्।
यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले यात्रा सहज भएको बताए। उनका अनुसार गत वर्ष पानी पर्नेबित्तिकै दाउन्नेको जाममा फस्नुपर्ने अवस्था थियो। अहिले सडक फराकिलो र कालोपत्र भएपछि यात्रा समय घटेको छ।
दाउन्ने क्षेत्रमा यातायात सहज हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। उनका अनुसार दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो। सडक विस्तार अन्तिम चरणमा पुगेसँगै आवागमन सहज भएको र यसले स्थानीय अर्थतन्त्र, पर्यटन तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ।
गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए। निर्माण कार्य र वर्षाका कारण गत वर्ष पटक पटक लामो जाम व्यवस्थापन गर्नुपरेको स्मरण गर्दै उनले अहिले सडकको अवस्था सुधारिएकाले सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने समस्या नदेखिएको बताए। उनका अनुसार प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ।
नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए। उनका अनुसार पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन्।
पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजनाअन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको र सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ।
सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा समेत घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन। सडक सुधारसँगै दाउन्ने क्षेत्र हुँदै यात्रा गर्ने यात्रु, चालक, व्यवसायी र स्थानीय बासिन्दाले लामो समयपछि सहज यात्राको अनुभव गर्न थालेका छन्।





