प्रकाश विकल्पको टिप्पणी: समस्या पात्रमा होइन, राज्यको नीति र चरित्रमा छ

ड्रागन मिडिया समाचार कक्ष
श्रम संस्कृति पार्टीका उपाध्यक्ष तथा सुशासनका युवा अभियन्ता प्रकाश विकल्पले राज्यको कार्यशैली, नागरिकमा बढ्दो निराशा र सरकारको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विकल्पले वर्तमान समयमा जनतामा देखिएको निराशा जेनजी आन्दोलनअघिको अवस्थाभन्दा पनि भयानक रहेको टिप्पणी गरेका छन्। उनले राज्य नागरिकप्रति उत्तरदायी बन्नुको सट्टा दमन र राजस्व संकलनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्।
विकल्पले राज्यले नागरिकका आधारभूत आवश्यकताप्रति जिम्मेवारी पूरा नगरेको तर कानुनी डण्डा भने गरिब, निमुखा र कमजोर वर्गमाथि मात्र चलाउने प्रवृत्ति देखाएको बताएका छन्।
उनले लेखेका छन्, “संविधान र कानुनको पालना गरी रोजगारी दिन नपर्ने, शान्ति सुरक्षा दिन नपर्ने, न्याय र अधिकार दिन नपर्ने, सडक, खानेपानी र शिक्षा–स्वास्थ्यको ग्यारेन्टी गर्नु नपर्ने, राज्य नागरिकप्रति उत्तरदायी हुन नपर्ने। तर, कानुनको पालना गर्ने सिलसिलामा कहिले युवा–विद्यार्थी मार्नुपर्ने, गरिब–सुकुम्बासीको उठिवास लगाउनुपर्ने?”
विकल्पले समस्या व्यक्तिविशेषमा मात्र नभई राज्यको नीति, चरित्र, प्रवृत्ति र संस्कारमै रहेको दाबी गरेका छन्। उनका अनुसार राज्यको नीति र चरित्र नबदलिएसम्म समस्याको दीर्घकालीन समाधान सम्भव हुँदैन।
उनले थप लेखेका छन्, “वस्तुतः समस्या पात्रमा होइन, राज्यको नीति, चरित्र, प्रवृत्ति र संस्कारमा छ। राज्यको नीति, चरित्र, प्रवृत्ति र संस्कार नबदली समस्याको दीर्घकालीन समाधान हुँदैन।”
नेतृत्व परिवर्तनले मात्र मुलुकको समस्या समाधान नहुने उल्लेख गर्दै विकल्पले समाजको राजनीतिक चेतना र सोच्ने तरिका बदलिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार नयाँ पात्रको खोजी मात्र पर्याप्त छैन, समाजले अग्रगामी दृष्टिकोण र स्पष्ट एजेन्डालाई पुरस्कृत गर्न सक्ने राजनीतिक चेतना विकास गर्नुपर्छ।
“जोगी फेरिँदैमा समस्याको समाधान हुँदैन,” विकल्पले भनेका छन्, “यसका लागि पात्र जन्माउने वा पात्रको पछि दौडिने समाज होइन, अग्रगामी भिजन र एजेन्डालाई पुरस्कृत गर्ने स्तरमा समाजको राजनीतिक चेतना उठ्नुपर्ने हुन्छ।”
सुकुम्बासी बस्ती हटाउने नाममा विकल्पबिहीन उठिवास लगाइएको र गणेश नेपाली प्रकरणपछि सरकार तथा स्थानीय निकायको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला विकल्पको टिप्पणी सार्वजनिक भएको हो।
उनको टिप्पणीले राज्यको जवाफदेहिता, सामाजिक न्याय, कमजोर वर्गप्रतिको संवेदनशीलता र राजनीतिक परिवर्तनको वास्तविक अर्थबारे नयाँ बहस शुरु गरेको छ।





