विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका काम्पाजलाई ज्यान मार्ने धम्की

ड्रागन मिडिया समाचार कक्ष
फिफा विश्वकप फुटबल प्रतियोगिताबाट कोलम्बिया बाहिरिएपछि राष्ट्रिय टोलीका फरवार्ड जामिन्टोन काम्पाज र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ।
कोलम्बियाली फुटबल महासंघ (एफसीएफ) ले शुक्रबार विज्ञप्ति जारी गर्दै काम्पाज र उनको परिवारविरुद्ध दिइएको धम्कीको कडा निन्दा गरेको छ। महासंघले देशको प्रतिनिधित्व गर्ने कुनै पनि खेलाडी वा उनका परिवारका सदस्यलाई खेलको नतिजाका कारण धम्की र त्रासमा पार्न नहुने जनाएको छ।
कोलम्बिया मंगलबार भएको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।
अर्जेन्टिनी क्लब रोसारियो सेन्ट्रलबाट व्यावसायिक फुटबल खेल्ने काम्पाजले अतिरिक्त समयमा गोल गर्ने महत्त्वपूर्ण अवसर गुमाएका थिए। उनको प्रहार गोलपोस्टभन्दा बाहिरिएको थियो। यद्यपि, उनले पेनाल्टी सुटआउटमा आफ्नो प्रहारलाई सफलतापूर्वक गोलमा परिणत गरेका थिए।
खेलपछि काम्पाजले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गर्दै समर्थकलाई सम्मान र संयम कायम राख्न आग्रह गरेका छन्। खेलको नतिजाप्रति फरक धारणा राख्न र निराश हुन सकिए पनि त्यसलाई घृणा, धम्की वा हिंसामा बदल्न नहुने उनको भनाइ छ।
कोलम्बियाली फुटबल महासंघले काम्पाज, उनको परिवार, राष्ट्रिय टोलीका सबै खेलाडी तथा सम्पूर्ण प्रतिनिधिमण्डलप्रति ऐक्यबद्धता जनाएको छ। महासंघले देशको महान्यायाधिवक्ता कार्यालयलाई धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउन आवश्यक अनुसन्धान तीव्र पार्न आग्रह गरेको छ।
महासंघले फुटबल एकता, सम्मान र आशाको माध्यम हुनुपर्ने उल्लेख गर्दै खेलको हार वा निराशा वास्तविक जीवनमा घृणा, डर वा हिंसाको कारण बन्न नहुने जनाएको छ।
यस घटनाले कोलम्बियाली फुटबलको सन १९९४ को दुःखद इतिहाससमेत सम्झाएको छ। त्यस वर्षको विश्वकपमा अमेरिकाविरुद्धको खेलमा कोलम्बियाली डिफेन्डर आन्द्रेस एस्कोबारबाट आफ्नै पोस्टमा गोल भएको थियो। कोलम्बिया प्रतियोगिताबाट बाहिरिएको केही दिनपछि एस्कोबारको मेडेलिनमा हत्या भएको थियो।
एस्कोबारको हत्या उक्त गोलकै प्रत्यक्ष परिणाम थियो भन्ने विषयमा विभिन्न व्याख्या पाइए पनि त्यो घटना खेलाडीविरुद्धको घृणा र हिंसाको विश्व फुटबल इतिहासकै सबैभन्दा दुःखद उदाहरणमध्ये एक मानिन्छ।





