मायादेवीमा हतियारसहित आएका तीन लागुऔषध कारोबारी पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
रुपन्देहीको मायादेवी गाउँपालिकामा हतियारसहित आएका तीन जना कथित लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट संयुक्त रूपमा खटिएको टोलीले एक भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो। प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते भएका थिए। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनै जनालाई पूर्वसूचनाका आधारमा जाँच गर्न खोजिएको थियो।
प्रहरीले रोक्न निर्देशन दिँदा नमानेर उनीहरूमध्ये एक जनाले हतियार निकालेपछि नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको चन्दले बताए। पटकपटक चेतावनी दिँदासमेत उनीहरूले प्रहरीको निर्देशन नमानेको प्रहरीको दाबी छ।
पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, दुई राउन्ड गोली, ब्राउन सुगर र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।





