जानकीकुमारी तुलाधरले सम्हालिन् कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

ड्रागन मिडिया समाचार कक्ष
निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेकी छन्।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि वरिष्ठताक्रममा रहेकी तुलाधरलाई उक्त जिम्मेवारी सरेको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय रहने निर्वाचन आयोगमा हाल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र बहाल छन्।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते सकिएको थियो। त्यस्तै, तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते समाप्त भएको थियो।
यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया शुरु गरेको छ।
संवैधानिक परिषदले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा काठमाडौँका डा. राजीव सुब्बा र ओखलढुङ्गाका गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।





