२७ असार २०८३, शनिबार

निष्क्रिय खाता घटाउन बैंक तथा वित्तीय संस्थालाई कार्ययोजना बनाउन राष्ट्र बैंकको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता न्यूनीकरणसम्बन्धी कार्ययोजना तयार गरी २०८३ पुस मसान्तसम्म कार्यान्वयन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन तथा परिमार्जन गर्दै इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो।

संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सक्रिय खाता निष्क्रिय हुनुअघि नै फोन, एसएमएस र इमेललगायतका माध्यमबाट सम्बन्धित ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ।

निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन बैंक तथा वित्तीय संस्थाले कम्तीमा छ महिनाको अन्तरालमा फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई अनुरोध गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी गरिएको सम्पर्कको अभिलेखसमेत सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

ग्राहकले आफ्नो खाता सम्बन्धित बैंक वा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखाबाट सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। मोबाइल वा वेब एप्लिकेसनमार्फत समेत खाता बन्द गर्न सकिने प्रणाली विकास गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

ग्राहक स्वयं उपस्थित भएर वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको मौज्दात रकम निजकै नाममा अर्को बैंक वा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, ग्राहकको पहिचान पुष्टि गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ।

राष्ट्र बैंकले निष्क्रिय अवस्थामा रही पुनः सञ्चालनमा आएका खातामा हुन सक्ने अस्वाभाविक कारोबारको निगरानीका लागि प्रभावकारी प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button