२७ असार २०८३, शनिबार

कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन

ड्रागन मिडिया समाचार कक्ष

एम्स वन ग्लोबल माइल अन्तर्गत शनिबार बाँकेको कोहलपुरमा आयोजित एक माइल अर्थात १.६ किलोमिटर दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन्।

अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर कोहलपुरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको विद्यालयस्तरीय छात्रतर्फ समिर बस्नेत पहिलो भए। सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए।

विद्यालयस्तरीय छात्रातर्फ चेतना बस्नेतले पहिलो स्थान हासिल गरिन्। सलिना थारु दोस्रो, नियुक्ति गुरुङ तेस्रो र एन्जल सुनार चौथो भए।

कोहलपुर खुला मैदानबाट शुरु भएको दौड नेपालगन्ज मेडिकल कलेजको प्रवेशद्वारसम्म पुगेर सोही मार्ग हुँदै पुनः खुला मैदानमा आएर सम्पन्न भएको थियो।

आठदेखि १२ वर्ष उमेर समूहको किड्स रन छात्रातर्फ मान्वी चौधरी पहिलो, बिपना बुढा दोस्रो, नबिना थापा तेस्रो र ग्रीष्मा शाही चौथो भए। सोही उमेर समूहको छात्रतर्फ मिलन कैला, अब्दुल्लाह खान, अमृत विक र दिनेश कैला क्रमशः पहिलोदेखि चौथो स्थानमा रहे।

प्रत्येक विधाका पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगितामा करिब दुई सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सबै सहभागीलाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

अमेरिकाको न्युयोर्कमा आयोजना हुने हडसन माइलको विस्तारित अभियानका रूपमा वन ग्लोबल माइल सञ्चालन गरिएको आयोजकले जनाएको छ। ‘एक दिन, एक माइल, एक विश्व’ नारासहित दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले जुलाई ११ मा ११ देशका विभिन्न शहरमा एकैपटक कार्यक्रम आयोजना गरिएको हो।

विश्वभरका म्याराथन तथा लामो दूरीका दौड आयोजकहरूको संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस अर्थात एम्सले वन ग्लोबल माइललाई प्रवर्द्धन गर्दै आएको छ। एक माइल दौडलाई लामो दूरीको दौड र म्याराथनतर्फ प्रवेश गर्ने प्रारम्भिक चरणका रूपमा लिइन्छ।

अन्य देशमा एक–एक शहरमा मात्र कार्यक्रम आयोजना गरिएको भए पनि नेपालमा कोहलपुर र काठमाडौँ गरी दुई शहरमा वन ग्लोबल माइल आयोजना गरिएको आयोजकले जनाएको छ।

नगरप्रमुख आचार्यले पनि पूरा गरे एक माइल दौड

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले विद्यार्थीलाई उत्साह प्रदान गर्दै कोहलपुर माइलको निर्धारित दूरी पूरा गरेका छन्।

नगरप्रमुख आचार्यसँगै धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापालगायतले पनि एक माइल दौड पूरा गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख आचार्यले कोहलपुरमा अन्तर्राष्ट्रिय अभियान अन्तर्गतको दौड आयोजना गरेकोमा वन ग्लोबल माइलप्रति आभार व्यक्त गरे।

उनले प्रतियोगितालाई आगामी वर्ष थप व्यापक बनाउन नगरपालिकाको वार्षिक कार्यतालिकामा समावेश गरी उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगिताका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग गरेकोमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई धन्यवाद दिए।

काठमाडौँ माइल पनि सम्पन्न

एम्स वन ग्लोबल माइल अन्तर्गत काठमाडौँ माइल पनि शनिबार सम्पन्न भएको छ।

नक्सालस्थित नारायणचौरबाट शुरु भएको दौड दरबारमार्ग पुगेर पुनः नारायणचौरमै आएर सम्पन्न भएको थियो। दौडमा सहभागी सबैलाई पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

काठमाडौँ माइलका डाइरेक्टर कपिल थापाले एक माइल दौडले सहभागीलाई लामो दूरीको दौडतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

विश्वव्यापी अभियान अन्तर्गत आयोजना भएकाले सहभागीले एम्सका अध्यक्ष पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोका हस्ताक्षरित प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए।

थापाले पहिलो संस्करणमा देखिएको सहभागिताले आगामी वर्ष काठमाडौँ माइललाई अझ व्यापक रूपमा आयोजना गर्न उत्साह थपेको बताए।

कार्यक्रम संयोजक ममता थापाले काठमाडौँमा वन ग्लोबल माइलको महत्त्व बुझेर सहभागी हुनेको सङ्ख्या उल्लेख्य रहेको बताइन्। आगामी संस्करणमा प्रतियोगिताको दायरा अझ फराकिलो हुने अपेक्षा गरिएको उनले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button