२७ असार २०८३, शनिबार

कांग्रेस विवाद विभाजनतर्फ, देउवा पक्षमा नयाँ पार्टी गठनसम्मको विकल्पमा छलफल

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनदेखि चर्किएको विवाद समाधान नहुँदा पार्टी विभाजनतर्फ जाने सङ्केत देखिएको छ। दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि सहमतिको सम्भावना कमजोर बन्दै गएको नेताहरूले बताएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला सभापति गगन थापा नेतृत्वको पक्षसँग सहमति गरेर अघि बढ्न तयार रहेको बताइएको छ। तर सभापति थापा पक्षले संवादका लागि पहल नगरेको देउवा समूहका नेताहरूको आरोप छ।

देउवा पक्षले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी समानान्तर राजनीतिक गतिविधि शुरु गरिसकेको छ। सो समूहले साउन ६ गते बिपी स्मृति दिवस छुट्टै कार्यक्रम आयोजना गरेर मनाउने निर्णय गरेको छ।

सम्पर्क कार्यालयमा नेता खड्काको उपस्थितिमा बसेको बैठकमा सभापति थापा पक्षसँग सहमति नजुटे नयाँ पार्टी गठन गरेर अघि बढ्नेसम्मका विकल्पमा छलफल भएको बताइएको छ। बैठकमा सहभागी नेताहरूले वर्तमान अवस्थामा दुई पक्षबीच तत्काल सहमति हुने सम्भावना कमजोर रहेको निष्कर्ष निकाले पनि वार्ताका लागि आफूहरू तयार रहेको सन्देश दिएका छन्।

नेता प्रकाशशरण महतले साउन ६ गते आफ्नो समूहले ठूलो कार्यक्रम आयोजना गर्ने जानकारी दिए। उनका अनुसार साउनभित्रै राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत भइरहेको छ।

“राष्ट्रिय भेला साउनभित्रै गर्ने विषयमा छलफल भएको छ। मिति औपचारिक रूपमा घोषणा गरिएको छैन। साउन ६ गते नै आयोजना हुन पनि सक्छ,” महतले बताए।

सभापति थापा पक्षसँग मिलेर अघि बढ्ने सम्भावना सकिएको हो भन्ने प्रश्नमा महतले आफूहरूले सहमति चाहेको तर अर्को पक्षले त्यसका लागि वातावरण नबनाएको दाबी गरे।

“हामीले सहमति चाहेका हौँ। तर अहिलेसम्म उहाँहरूले त्यसअनुकूल वातावरण सिर्जना गर्नुभएको छैन। अहिलेको व्यवहार हेर्दा विवाद समाधान गर्न चाहेको देखिँदैन,” उनले भने।

महतले सभापति थापा १५औँ महाधिवेशनमा आफ्नो नियन्त्रण स्थापित गर्ने उद्देश्यले अघि बढेको आरोपसमेत लगाए। अलग पार्टी गठनको तयारी भइरहेको हो भन्ने प्रश्नमा उनले आगामी परिस्थिति सभापति थापा पक्षको व्यवहारमा निर्भर रहने बताए।

“अब सबै कुरा उहाँहरूको हातमा छ। अहिलेसम्मका सङ्केत हेर्दा उहाँहरूले सहमति गर्न चाहेको देखिँदैन,” महतले भने।

उनले देउवा पक्ष संवादका लागि तयार रहे पनि सभापति थापा पक्षबाट औपचारिक पहल नभएको दाबी गरे।

“हामी संवादका लागि तयार छौँ भनेर निरन्तर भनिरहेका छौँ। तर बाहिर भाषण गर्ने र आरोप लगाउनेबाहेक बसेर छलफल गरौँ भन्ने कुनै प्रयास भएको छैन,” उनले बताए।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट देउवा समूहका आरोप र नयाँ पार्टी गठनसम्बन्धी छलफलबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button