गुलरियामा इजाजतबिनै ५८ स्वास्थ्य संस्था सञ्चालनमा रहेको खुलासा

ड्रागन मिडिया समाचार कक्ष
बर्दियाको सदरमुकामसमेत रहेको गुलरिया नगरपालिकाभित्र आवश्यक इजाजत नलिई ५८ वटा पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजी प्रयोगशाला तथा निजी अस्पताल सञ्चालनमा रहेको पाइएको छ।
गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ती संस्थाले लुम्बिनी प्रदेशको सम्बन्धित स्वास्थ्य निकायबाट इजाजत नलिई सेवा सञ्चालन गरिरहेका छन्। नगरभित्र नामसमेत नराखिएका पाँचवटा औषधि पसल सञ्चालनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ।
गुलरिया नगरपालिका–११ मा एक भारतीय नागरिकले लामो समयदेखि इजाजतबिनै औषधि पसल सञ्चालन गरिरहेको स्थानीय सामाजिक अभियन्ता राजकुमार बर्माले बताए। सम्बन्धित निकायलाई जानकारी हुँदाहुँदै पनि उक्त पसलमाथि कारबाही नभएको उनको आरोप छ।
भारतसँग सीमा जोडिएका गुलरिया–९ र १० का केही घरबाट समेत औषधि बिक्री तथा स्वास्थ्य सेवा सञ्चालन भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। गुलरिया–१० का वडाध्यक्ष हरिप्रसाद पासीले उक्त क्षेत्रमा आठदेखि १० वटासम्म अनधिकृत औषधि पसल सञ्चालनमा रहेको जानकारी आफूले पाएको बताए।
दुई कार्यकालदेखि वडाध्यक्षको जिम्मेवारीमा रहे पनि यस्ता पसलको प्रभावकारी अनुगमन नभएको उल्लेख गर्दै उनले नियामक निकायले तत्काल छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए।
गुलरियामा आवश्यक दर्ता तथा इजाजत प्रक्रिया पूरा नगरी ठूलो लगानीमा सिटी अस्पतालसमेत सञ्चालनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरीका अनुसार अस्पताललाई प्रचलित स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता प्रक्रिया सम्पन्न गर्न पत्राचार गरिएको छ।
उनले गुलरिया–६ मा इजाजत नलिई सञ्चालन भएका स्वास्थ्य संस्था तथा औषधि पसलको सङ्ख्या सबैभन्दा बढी रहेको बताए। नामसमेत नभएका पाँच पसल तथा चिकित्सकको योग्यता र वैधानिकतामाथि प्रश्न उठेका व्यक्तिको गतिविधिबारे निगरानी बढाइएको उनको भनाइ छ।
“सम्बन्धित संस्थालाई ३५ दिनभित्र स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा आउन निर्देशन दिएका छौँ,” चौधरीले भने।
सिटी अस्पतालका सञ्चालक डा. मुकेश झाले भने नगरपालिकाबाट अस्थायी अनुमति लिएर अस्पताल सञ्चालन गरिएको दाबी गरेका छन्। करिब दुई वर्षअघि स्थापना भएको अस्पताललाई आगामी छ महिनाभित्र आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी औपचारिक रूपमा दर्ता गरिने उनले बताए।
नगरपालिकाले गत वर्ष पनि सिटी अस्पताललाई आवश्यक मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पत्राचार गरेको थियो।
बर्दिया जिल्लाभर इजाजतबिनै सञ्चालन भइरहेका औषधि तथा स्वास्थ्य सेवासम्बन्धी व्यवसायको यकिन सङ्ख्या भने सार्वजनिक भएको छैन। स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पद्मा श्रेष्ठका अनुसार हालसम्म जिल्लाका तीनवटा पोलिक्लिनिक मात्रै कार्यालयमा दर्ता भएका छन्।
उनले स्वास्थ्य संस्था दर्ताका लागि भौतिक संरचना तथा सेवा प्रवाहसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने बताइन्। अपाङ्गतामैत्री संरचना, कर्मचारीको नियुक्ति तथा तलबसम्बन्धी सम्झौता, आवश्यक जनशक्ति र विपन्न नागरिकलाई कम्तीमा १० प्रतिशत छुट दिने प्रतिबद्धतालगायतका शर्त पूरा नगर्ने संस्थाको दर्ता नहुने उनको भनाइ छ।
नगर स्वास्थ्य शाखा प्रमुख चौधरीले इजाजत र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका औषधि पसल तथा स्वास्थ्य संस्थामाथि चाँडै कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।





