यस वर्ष हालसम्मकै बढी रासायनिक मल आयात गरिएको मन्त्री चौधरीको दाबी

ड्रागन मिडिया समाचार कक्ष
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विगतका वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताएकी छन्।
चितवनको खैरहनीमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले किसानलाई सहज र सरल रूपमा रासायनिक मल उपलब्ध गराउन सरकार निरन्तर सक्रिय रहेको जानकारी दिइन्।
यस वर्ष धान रोपाइँ शुरु हुनुअगावै किसानका हातमा मल पुर्याउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण अपेक्षा अनुसार वितरण गर्न नसकिएको उनले स्वीकार गरिन्।
रासायनिक मल सहज रूपमा आयात गर्न सकिने मुलुकहरूको पहिचान तथा वैकल्पिक आपूर्ति व्यवस्थाको खोजीका लागि सरकारले निरन्तर काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ।
आपूर्ति व्यवस्थापनलाई थप सहज बनाउन सरकारले नयाँ कदम चालेको उल्लेख गर्दै उनले आगामी साउन १ गतेदेखि नयाँ लटको मल आयात शुरु हुने जानकारी दिइन्। आयातका लागि आवश्यक मल सम्बन्धित बन्दरगाहमा पुगिसकेको पनि उनले बताइन्।
मन्त्री चौधरीका अनुसार आगामी दिनमा वार्षिक कार्यतालिका बनाएर देशभर व्यवस्थित रूपमा रासायनिक मल वितरण गर्ने सरकारको योजना छ। यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच आवश्यक समन्वय गरी वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइने छ।
खेती प्रणालीको विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेकाले माग र आपूर्तिबिच सन्तुलन कायम राख्नु अझै चुनौतीपूर्ण रहेको उनले उल्लेख गरिन्। यद्यपि, किसानको माग अनुसार मल आपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
किसानका समस्या तथा गुनासालाई तत्काल सम्बोधन गरी सहज सेवा प्रदान गर्न टोल–फ्री नम्बरसमेत सञ्चालनमा ल्याइएको मन्त्री चौधरीले जानकारी दिइन्।
उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले देशभर पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल पठाइसकेको छ।





