२८ असार २०८३, आईतवार

बेलिङहमको दुई गोलमा नर्वे पराजित, इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

ड्रागन मिडिया समाचार कक्ष

जुड बेलिङहमको दुई गोलको मद्दतमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको फ्लोरिडास्थित मियामी गार्डेन्समा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक क्वाटरफाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली १–१ गोलको बराबरीमा थिए। अतिरिक्त समयको तेस्रो अर्थात खेलको ९३औँ मिनेटमा बेलिङहमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरे।

नर्वेले खेलको ३६औँ मिनेटमा आन्द्रियास शेल्देरुपको गोलबाट शुरुवाती अग्रता लिएको थियो। इङ्ल्यान्डले पहिलो हाफको थपिएको समयमा खेल बराबरीमा ल्यायो। एन्थोनी गोर्डनले उपलब्ध गराएको बललाई बेलिङहमले गोलमा परिणत गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफमा नर्वेले पुनः अग्रता लिएको जस्तो देखिए पनि भिडियो सहायक रेफ्रीको समीक्षापछि गोल रद्द गरिएको थियो। खेलको ५६औँ मिनेटमा टोर्बियोर्न हेग्गेमले बललाई जाली चुमाए पनि त्यसअघि एर्लिङ हालान्डबाट फाउल भएको ठहर गर्दै रेफ्रीले गोललाई मान्यता दिएनन्। इङ्ल्यान्डका कप्तान ह्यारी केनको गोल पनि अफसाइडका कारण रद्द भएको थियो।

निर्धारित समयको अन्त्यसम्म दुवै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समय शुरु भएको तीन मिनेटमै मोर्गन रोजर्सले गरेको लामो दूरीको प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइल्यान्डले नियन्त्रणमा लिन नसक्दा बेलिङहमले प्राप्त बललाई गोलमा परिणत गरे। यही गोल इङ्ल्यान्डलाई अन्तिम चारमा पुर्‍याउन निर्णायक बन्यो।

अतिरिक्त समयमा इङ्ल्यान्डले पेनाल्टीसमेत पाएको थियो। तर भिडियो सहायक रेफ्रीको समीक्षापछि प्रारम्भिक निर्णय उल्ट्याइएको थियो। त्यसपछि नर्वेले बराबरी गोलका लागि दबाब बढाए पनि इङ्ल्यान्डको रक्षापङ्क्ति र गोलरक्षक जोर्डन पिकफोर्डले अग्रता जोगाए।

हालान्डलाई गोलविहीन राख्न सफल इङ्ल्यान्ड

नर्वेका प्रमुख स्ट्राइकर एर्लिङ हालान्डले यसअघिका खेलमा सात गोल गरेका थिए। तर इङ्ल्यान्डविरुद्ध उनी प्रतियोगितामा पहिलो पटक गोलविहीन रहे। उनको एउटा खतरनाक हेडर पिकफोर्डले रोकेका थिए भने अर्को आक्रमणका क्रममा भएको फाउलका कारण नर्वेको सम्भावित गोल रद्द भयो।

नर्वेले अन्तिम १६ मा ब्राजिललाई २–१ ले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको थियो। इङ्ल्यान्डविरुद्ध पनि शुरुवाती अग्रता लिँदै उसले अर्को अप्रत्याशित नतिजाको सम्भावना देखाएको थियो। तर बेलिङहमको निर्णायक प्रदर्शनले नर्वेको ऐतिहासिक यात्रा अन्तिम आठमै रोकियो।

बेलिङहमको गोल सङ्ख्या छ पुग्यो

नर्वेविरुद्ध दुई गोल गरेपछि बेलिङहमले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या छ पुर्‍याएका छन्। उनी अब आफ्नै टोलीका कप्तान ह्यारी केनसँग बराबरीमा पुगेका छन्। फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसी आठ–आठ गोलसहित सर्वाधिक गोलकर्ताको दौडमा अगाडि छन् भने हालान्ड सात गोलमा छन्।

बेलिङहमले अन्तिम १६ मा आयोजक मेक्सिकोविरुद्ध पनि दुई गोल गरेका थिए। उक्त खेलमा इङ्ल्यान्डले एक खेलाडी कम भएको अवस्थामा मेक्सिकोलाई ३–२ ले पराजित गरेको थियो। लगातार दुई नकआउट खेलमा निर्णायक प्रदर्शन गरेपछि बेलिङहम इङ्ल्यान्डको विश्वकप अभियानका मुख्य खेलाडीका रूपमा स्थापित भएका छन्।

सन् २०१८ पछि पहिलो पटक अन्तिम चारमा

यस जितसँगै इङ्ल्यान्ड सन् २०१८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। रुसमा सम्पन्न सन् २०१८ को विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको थियो। सन् २०२२ मा भने उसको यात्रा क्वाटरफाइनलमै रोकिएको थियो।

इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको अन्तिम क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना–स्विट्जरल्यान्ड खेल अमेरिकाको कन्सास सिटीमा शनिबार स्थानीय समयअनुसार राति ८ बजे अर्थात नेपाली समयअनुसार आइतबार बिहान ६ः४५ बजे शुरु हुने तालिका छ।

इङ्ल्यान्डको सेमिफाइनल खेल जुलाई १५ मा अमेरिकाको एटलान्टा स्टेडियममा हुनेछ। आधिकारिक प्रतियोगिता तालिकाअनुसार यो खेल नर्वे–इङ्ल्यान्ड र अर्जेन्टिना–स्विट्जरल्यान्ड क्वाटरफाइनलका विजेताबिच हुनेछ।

फ्रान्स र स्पेन यसअघि नै सेमिफाइनलमा

विश्वकपको अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुने निश्चित भइसकेको छ। फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेको थियो भने स्पेनले बेल्जियमलाई २–१ ले हराएको थियो। स्पेनका मिकेल मेरिनोले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा निर्णायक गोल गरेका थिए।

फ्रान्स र स्पेनबीचको सेमिफाइनल जुलाई १४ मा अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा हुनेछ। इङ्ल्यान्डको प्रतिद्वन्द्वी भने अर्जेन्टिना–स्विट्जरल्यान्ड खेलपछि टुङ्गो लाग्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button