स्वदेश फर्किएका युवाको माग : उद्यम सञ्चालनका लागि अनुदान र सहुलियत देऊ

ड्रागन मिडिया समाचार कक्ष
वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान, सहुलियतपूर्ण कर्जा तथा आवश्यक नीतिगत सहयोग उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
स्वदेशमा रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएको उल्लेख गर्दै उनीहरूले फर्किएपछि आफ्नो शीप, अनुभव र पुँजीलाई उपयोग गरी आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले शुक्रबारदेखि सञ्चालन गरेको दुईदिने उद्यमशीलता प्रवर्द्धन तालिमका सहभागीले स्थानीयस्तरमा आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी उपलब्ध गराउन सरकारसँग माग गरे।
सहभागी युवाले विदेशमा राम्रो भविष्यको सपना देखे पनि अन्ततः आफ्नो देश नै प्यारो लाग्ने भएकाले स्वदेशमै केही गरेर व्यक्तिगत तथा राष्ट्रिय हितमा योगदान गर्न चाहेको बताए।
उनीहरूले स्वदेशमा उद्यम सञ्चालन गर्न नीतिगत तथा प्रक्रियागत समस्या रहेको, राज्यले वास्तविक उद्यमशील व्यक्तिको पहिचान गर्न नसकेको र लक्षित अनुदान, योजना तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे।
यस्तो अवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका, विदेशमा रहेका तथा विदेश जाने तयारीमा रहेका लाखौँ युवामा भविष्यप्रति चिन्ता बढाएको उनीहरूको भनाइ थियो।
सहभागीले स्थानीय सरकारले शीप विकाससम्बन्धी तालिममा मात्र सीमित नभई उद्यम सञ्चालनका लागि आवश्यक प्रारम्भिक पुँजी, सहुलियतपूर्ण कर्जा, प्राविधिक सहयोग र बजार व्यवस्थापनको समेत व्यवस्था गर्नुपर्ने बताए।
तालिममा सहभागीलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, उपयुक्त व्यवसाय छनोट, व्यावसायिक योजना निर्माण, बजार तथा वित्तीय व्यवस्थापन, बचत र लगानी, उत्पादनको गुणस्तर सुधार तथा डिजिटल प्रविधिको प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।
यसैगरी सरकारी निकायबाट उपलब्ध हुने अनुदान, सहुलियत, सेवा तथा सुविधामा पहुँच स्थापित गर्ने प्रक्रियाबारे पनि सहभागीलाई प्रशिक्षण दिइएको थियो।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा आर्जन गरेको शीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले युवालाई पुनः वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न स्थानीय सरकारले उद्यमशीलता प्रवर्द्धन, शीप विकास र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिने बताए।
रोजगार संयोजक अल्का मिश्रले स्थानीय श्रोतसाधन र उपलब्ध शीपको सदुपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताइन्।
उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको अनुभव र दक्षतालाई स्थानीय उत्पादनसँग जोड्न सके गाउँपालिकाभित्र नयाँ उद्यम स्थापना हुनुका साथै थप रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिनेछ।





