२८ असार २०८३, आईतवार

कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ड्रागन मिडिया समाचार कक्ष

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले असार २८ र २९ गते विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

लगातार तथा तीव्र वर्षाका कारण खोला र खहरेमा अचानक बाढी आउन सक्ने, पहिरो तथा भूक्षय हुन सक्ने र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। तराईका तल्लो भूभाग तथा शहरका कमजोर निकास भएका क्षेत्रमा डुबानको समस्या उत्पन्न हुन सक्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले खोला, खहरे र नदी आसपासका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पहिरोको जोखिम भएका भिराला क्षेत्र, कमजोर भूभाग तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम र बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न तथा आवश्यक परे सुरक्षित स्थानमा जान तयार रहन अनुरोध गरिएको छ।

सम्भावित विपदको सामना तथा प्रतिकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक र सम्बन्धित निकायलाई आवश्यक जनशक्ति तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन भनिएको छ।

वर्षा र पहिरोका कारण अवरुद्ध हुन सक्ने जोखिमयुक्त सडक तथा राजमार्ग तत्काल सञ्चालन गर्न डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण रणनीतिक स्थानमा तयारी अवस्थामा राख्न पनि प्राधिकरणले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विपद व्यवस्थापनमा कार्यरत साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिसँग निरन्तर सम्पर्क र समन्वयमा रही सम्भावित उद्धार, राहत तथा पुनःस्थापनाका कामका लागि तयार रहन भनिएको छ।

प्राधिकरणले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त खोला पार नगर्न, नदीको बहाव हेर्न नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल–फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ। विपद सहायता माग्न राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button