माइखोला बेलासेमा बेलीब्रिज सञ्चालन, पुवाखोला र जोगमाईमा सामग्री अभावले ढिलाइ

ड्रागन मिडिया समाचार कक्ष
इलाम सदरमुकामलाई झापाको व्यापारिक केन्द्र बिर्तामोडसँग जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक अर्थात मेची कोरिडोरअन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भई सवारीसाधन सञ्चालनमा आएको छ।
इलाम नगरपालिका–११ को सोयाक र माई नगरपालिका–९ को चिसापानी जोड्ने उक्त स्थानमा सङ्घीय सरकारको एक करोड ११ लाख २८ हजार ९२३ रुपैयाँ लागतमा बेलीब्रिज निर्माण गरिएको हो।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार १८० फिट लामो र १४ फिट चौडा बेलीब्रिज निर्माणको जिम्मा बिबी–मेरिस्का–मल्लिका–साइना जेभीले पाएको थियो। भारत सरकारबाट अनुदानस्वरूप प्राप्त निर्माण सामग्री भारतीय प्राविधिक टोलीले जडान गरेपछि पुल सञ्चालनमा आएको हो।
सो स्थानमा रहेको पक्की पुल गत असोज १८ गतेको भारी वर्षापछि आएको बाढीले भत्काएको थियो। पुल क्षतिग्रस्त भएपछि सडक डिभिजन कार्यालयले हिउँदयाममा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्दै आएको थियो।
बेलीब्रिज सञ्चालनमा आएसँगै पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रबाट इलामको नेपालटार र मङ्गलबारे हुँदै झापा आवतजावत गर्ने यात्रु तथा यातायात व्यवसायीलाई सहज भएको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोलास्थित राजदुवाली क्षेत्रमा वर्षा हुनासाथ सडक अवरुद्ध हुने समस्या दोहोरिएपछि धेरै यातायात व्यवसायीले मेची कोरिडोरलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्।
पाँचथरको रविबाट बिर्तामोडसम्म सवारी सञ्चालन गर्दै आएका चालक सुमन रम्तले बेलीब्रिज सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायी दुवैलाई राहत मिलेको बताए।
उनका अनुसार राजदुवाली क्षेत्रमा पानी पर्नासाथ सडक अवरुद्ध हुँदा यात्रुले हैरानी र जोखिम बेहोर्दै आएका थिए। वैकल्पिक सडक सञ्चालन भएपछि आवागमन तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ।
पुवाखोलामा संरचना तयार, सामग्री आउन बाँकी
मेची कोरिडोरअन्तर्गत इलाम नगरपालिका–९ को गोलाखर्क र वडा नम्बर ११ को सोयाक जोड्ने पुवाखोलामा पनि नयाँ बेलीब्रिज निर्माण भइरहेको छ।
बेलीब्रिज जडानका लागि आवश्यक भौतिक संरचना तयार भइसके पनि भारतबाट अनुदानस्वरूप प्राप्त हुने निर्माण सामग्री ढुवानी नभएकाले काम रोकिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।
सङ्घीय सरकारको दुई करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा निर्माण हुने पुलको जिम्मा पनि बिबी–मेरिस्का–मल्लिका–साइना जेभीले पाएको छ।
सो स्थानमा एक करोड ४३ लाख ७६ हजार २९७ रुपैयाँ लागतमा अघिल्लो वर्ष निर्माण गरिएको बेलीब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो। त्यसयता उक्त सडक खण्डमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।
पुवाखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएपछि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रबिच वर्षायाममा समेत नियमित यातायात सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जोगमाई खोलामा पनि उस्तै समस्या
सिमलगोला–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा समेत बेलीब्रिज निर्माणका लागि आवश्यक आधारभूत संरचना तयार गरिएको छ।
तीन करोड ३७ लाख चार हजार १२६ रुपैयाँ लागतमा निर्माण हुने पुलको जिम्मा उदयपुरको डिसी कन्ट्रक्सन प्रालिले पाएको छ। तर भारतबाट आवश्यक निर्माण सामग्री नआएकाले पुल जडान हुन सकेको छैन।
गत वर्ष एक करोड ९१ लाख २१ हजार ६३२ रुपैयाँ लागतमा जडान गरिएको जोगमाई खोलाको बेलीब्रिज पनि असोज १८ गतेको बाढीले बगाएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार पुवाखोला र जोगमाई खोलामा निर्माण गरिने दुवै बेलीब्रिज २३० फिट लामो र १४ फिट चौडा हुनेछन्।
भारतीय सामग्रीको प्रतीक्षामा रोकियो काम
पुवाखोला र जोगमाई खोलामा पुल जडानका लागि आवश्यक सबै भौतिक संरचना करिब डेढ महिनाअघि नै तयार भए पनि भारतबाट निर्माण सामग्री र प्राविधिक टोली नआउँदा काममा ढिलाइ भएको डिभिजन प्रमुख भट्टराईले बताए।
नेपाल र भारतबिच भएको समझदारीअनुसार भारत सरकारले निर्माण सामग्री ढुवानी गर्नुका साथै प्राविधिक टोली पठाएर पुल जडानसमेत गरिदिने व्यवस्था छ।
नेपाल पठाउन तयार पारिएका केही सामग्री भारतमै प्राकृतिक विपदबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा प्रयोग गर्नुपरेकाले ढिलाइ भएको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।
निर्माण सामग्री शीघ्र उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमार्फत पहल भइरहेको छ। भारतीय पक्षले भन्सार जाँचका लागि आवश्यक कागजात पठाइसकेको जानकारी आएको भए पनि सामग्री नेपाल आइपुग्ने मिति निश्चित नभएको भट्टराईले बताए।
सामग्री र प्राविधिक टोली एकैसाथ आए एउटा बेलीब्रिज जडान गर्न करिब दुई साता लाग्ने अनुमान छ। आवश्यक सामग्री समयमै आइपुगे दुवै पुल एक महिनाभित्र जडान गर्न सकिने कार्यालयको भनाइ छ।
माइखोला बेलासेमा पक्की पुल पनि बन्ने
अस्थायी रूपमा यातायात सञ्चालनका लागि बेलीब्रिज जडान गरिए पनि माइखोला बेलासेमा दीर्घकालीन समाधानका रूपमा नयाँ पक्की पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
सडक डिभिजन कार्यालयले पक्की पुल निर्माणका लागि असार १७ गते बोलपत्र आह्वान गरेको छ। साउन १७ गते बोलपत्र खोलिने र सम्झौता भएको मितिले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने कार्यालयले जनाएको छ।
मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास भइरहेको मेची कोरिडोरमा इलामदेखि बिर्तामोडसम्मको दूरी करिब ५० किलोमिटर छ। माई नगरपालिका क्षेत्रमा पर्ने १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी खण्डमा ठेक्कामार्फत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।
माइखोला, पुवाखोला र जोगमाई खोलाका पुल पूर्ण रूपमा सञ्चालनमा आए पूर्वी पहाडी जिल्लालाई झापासँग जोड्ने वैकल्पिक यातायात प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ। यसबाट यात्रु आवागमनसँगै कृषि उपज, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत सहज हुने देखिएको छ।





