पान र शेइकोलाई युनेस्को–रुस मेन्डेलिभ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने

ड्रागन मिडिया समाचार कक्ष
चीनका प्राध्यापक जियान–वेई पान र अमेरिका तथा रुसका प्राध्यापक सेर्गेई एस. शेइकोलाई आधारभूत विज्ञानको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानका लागि युनेस्को–रुस मेन्डेलिभ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ।
पुरस्कारको तेस्रो संस्करणको समारोह जुलाई १७ मा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्यालयको कक्ष नम्बर १ मा आयोजना हुनेछ। समारोह स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि २ः३० बजेसम्म सञ्चालन हुने युनेस्कोले जनाएको छ।
पान चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालयमा कार्यरत क्वान्टम प्रकाश विज्ञान, क्वान्टम सञ्चार र क्वान्टम गणनाका विश्वप्रसिद्ध वैज्ञानिक हुन्। ठूलो दूरीमा सुरक्षित क्वान्टम सञ्चार प्रणालीको विकास र व्यापक रूपमा विस्तार गर्न सकिने क्वान्टम गणनामा उनले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको हो।
पान नेतृत्वको टोलीले विकास गरेको ‘मिसियस’ भूउपग्रहले हजारौँ किलोमिटर दूरीमा क्वान्टम कुञ्जी वितरण र क्वान्टम टेलिपोर्टेसन सम्भव बनाएको युनेस्कोले जनाएको छ। उनको टोलीले क्वान्टम गणनाको विशेष क्षमता पनि प्रदर्शन गर्दै विश्वव्यापी क्वान्टम सञ्जाल निर्माण गर्ने अवधारणालाई सैद्धान्तिक अवस्थाबाट व्यावहारिक सम्भावनातर्फ अघि बढाएको छ।
शेइको अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालय, च्यापल हिलमा रसायनशास्त्रका विशिष्ट प्राध्यापक हुन्। आधारभूत पोलिमर भौतिकशास्त्र र पदार्थ विज्ञानमा पुर्याएको उल्लेखनीय योगदानका लागि उनलाई पुरस्कारबाट सम्मानित गर्न लागिएको हो।
आणविक संरचनाले पदार्थको समग्र व्यवहार कसरी निर्धारण गर्छ भन्ने विषयमा शेइकोले विकास गरेको एकीकृत वैज्ञानिक ढाँचाले नरम र कठोरजस्ता विपरीत देखिने गुणलाई एउटै क्रमबद्ध बृहत् अणु संरचनामा समावेश गर्न सम्भव बनाएको छ। युनेस्कोका अनुसार उनको अनुसन्धानले नरम पदार्थको योजनाबद्ध डिजाइन र विकासमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।
युनेस्कोका महानिर्देशक खालिद एल–इनानीले दुवै वैज्ञानिकलाई बधाई दिँदै आधारभूत विज्ञान मानव ज्ञानको आधार र अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यको साझा भाषा भएको बताएका छन्। विभाजन र अस्थिरताको समयमा आधारभूत विज्ञानले देश तथा विषयगत सीमाभन्दा माथि उठेर सहकार्य, एकता र नयाँ आविष्कारका अवसर सिर्जना गर्ने उनको भनाइ छ।
युनेस्कोको कार्यकारी बोर्डको निर्णयअनुसार सन् २०१९ मा यो पुरस्कार स्थापना गरिएको थियो। रासायनिक तत्वहरूको आवर्त सारणीसम्बन्धी अन्तर्राष्ट्रिय वर्षको निरन्तरताका रूपमा शुरु गरिएको पुरस्कारले वैज्ञानिक प्रगति, विज्ञानको लोकप्रियता र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यो पुरस्कार आवर्त सारणीका जनक रुसी वैज्ञानिक दिमित्री इभानोभिच मेन्डेलिभको वैज्ञानिक योगदान र विरासतप्रति समर्पित छ। मेन्डेलिभले विकास गरेको आवर्त नियम र रासायनिक तत्वहरूको आवर्त सारणीले आधुनिक रसायनशास्त्र, भौतिकशास्त्र तथा सम्बन्धित वैज्ञानिक क्षेत्रको विकासमा आधारभूत योगदान पुर्याएको थियो।
सात जना प्रतिष्ठित वैज्ञानिक सम्मिलित अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सिफारिसमा प्रत्येक वर्ष दुई वैज्ञानिकलाई पुरस्कार प्रदान गरिन्छ। आधारभूत विज्ञानमा महत्वपूर्ण खोज, असाधारण नवप्रवर्तन र विश्व वा क्षेत्रीय तहमा सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्याउने वैज्ञानिकलाई पुरस्कारका लागि छनोट गरिने व्यवस्था छ।





