२८ असार २०८३, आईतवार

वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशत बढ्यो, नबिल शीर्ष स्थानमा

ड्रागन मिडिया समाचार कक्ष

वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९ प्रतिशतले बढेको हो।

बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय विवरण अनुसार यस अवधिमा २० वाणिज्य बैंकले कुल ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए।

यस आधारमा बैंकहरूको नाफा एक वर्षमा १० अर्ब ५० करोड रुपैयाँले बढेको देखिन्छ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकको शीर्ष स्थानमा नबिल बैंक रहेको छ। नबिलले जेठ मसान्तसम्म आठ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सर्वाधिक नाफा कमाउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले चालु आर्थिक वर्षको ११ महिनामा पाँच अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफाको वृद्धिदरका आधारमा कुमारी बैंक अगाडि देखिएको छ। बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चार अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कुमारी बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक हजार १६८.४५ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकले ३७ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

बैंकहरूको नाफामा आएको सुधारले कर्जा असुली, ब्याज आम्दानी, सम्भावित कर्जा नोक्सानी व्यवस्थापन तथा सञ्चालन खर्च व्यवस्थापनमा सुधार आएको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button