२८ असार २०८३, आईतवार

गणेश नेपालीको उपचारमा सरकारले कमी नगरेको परिवारको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका दाइले उनको उपचारमा सरकारले कुनै कमी नगरेको बताएका छन्। पत्रकार दिवाकर साहसँगको कुराकानीमा उनले सरकारले गणेशको जीवन रक्षाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गरेको बताएका हुन्।

पत्रकार साहले सरकार उपचारको जिम्मेवारी पूरा गर्न कतै चुकेको जस्तो लागेको छ कि छैन भनेर सोध्दा गणेशका दाइले त्यस्तो अनुभव नभएको जवाफ दिए।

उनले भने, “सरकार कतै चुकेको जस्तो लागेन। प्रधानमन्त्री कार्यालयबाट पनि टोली खटिएको थियो। स्वयं गृहमन्त्री पनि उपस्थित हुनुभएको थियो। भाइलाई थप उपचारका लागि दिल्ली लैजाने तयारीसमेत भएको थियो। तर भाइलाई बचाउन सकिएन।”

गणेशको निधनपछि सरकार, काठमाडौं महानगरपालिका र घटनासँग सम्बन्धित निकायको भूमिकालाई लिएर राजनीतिक दल, अभियन्ता तथा सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। यहीबीच परिवारका सदस्यबाट आएको अभिव्यक्तिले उपचारका क्रममा सरकारी पक्षबाट भएका प्रयासबारे फरक पक्ष प्रस्तुत गरेको छ।

अन्तर्वार्ताका क्रममा पत्रकार साहले उपचारका लागि सरकारले आवश्यक पहल गरेको देखिएको उल्लेख गर्दै केही पत्रकार र अभियन्ताले घटनालाई राजनीतिक लाभ तथा सामाजिक सञ्जालका दर्शक बढाउने उद्देश्यले प्रयोग गरेको भन्दै दुःख व्यक्त गरे।

उनले भने, “कतिपय पत्रकार र अभियन्ताले मृत्युलाई राजनीतिक रूपमा प्रयोग गरेको र भ्युजका लागि घटनालाई उछालेको देख्दा दुःख लाग्यो। म पनि पत्रकार नै हुँ।”

साहका अनुसार केही पत्रकारले गणेशका दाइलाई सरकारविरुद्ध अभिव्यक्ति दिन प्रेरित गर्ने प्रयाससमेत गरेका थिए। यसबारे प्रतिक्रिया दिँदै गणेशका दाइले पनि केही व्यक्तिले आफूलाई उचाल्न खोजेको बताए।

उनले भने, “कतिपय पत्रकारले मलाई उचाल्न खोजेका थिए। तर मैले कसैलाई पनि अन्तर्वार्ता दिएको थिइनँ।”

गणेश नेपालीको निधनसँग सम्बन्धित घटनाक्रमबारे विभिन्न पक्षबाट फरकफरक दाबी सार्वजनिक भइरहेका बेला परिवारको पछिल्लो भनाइले उपचार व्यवस्थापन र घटनाको राजनीतिक प्रयोगबारे नयाँ बहस शुरु गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button