नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित

ड्रागन मिडिया समाचार कक्ष
नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ।
नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न नगरसभाले धार्मिक, सांस्कृतिक तथा भौतिक पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्तावसमेत अनुमोदन गरेको छ।
सभाले बागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर विकास, १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार स्थापना तथा नगर बसपार्क निर्माण सम्बन्धी प्रस्ताव पारित गरेको हो।
त्यसैगरी, नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटले नगरको दिगो विकास, आन्तरिक राजस्व वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा विकास परियोजनाको प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको छ।
ताल तथा उद्यानको संरक्षण, हरियाली प्रवर्द्धन र नगरको सौन्दर्यीकरणलाई पनि बजेटका प्रमुख प्राथमिकतामा समावेश गरिएको छ।





