२८ असार २०८३, आईतवार

भारतीय अतिरिक्त सचिव मुनु महावर सोमबार नेपाल आउँदै

ड्रागन मिडिया समाचार कक्ष

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर दुई देशबीचको ऊर्जा सहकार्यसम्बन्धी बैठकमा सहभागी हुन सोमबार नेपाल आउने भएका छन्।

प्राप्त जानकारी अनुसार महावर जुलाई १३ मा काठमाडौं आइपुग्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। खनालले सन २०२६ मार्च २७ देखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

महावर भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजनका अतिरिक्त सचिव हुन्। उक्त डिभिजनले नेपाल र भुटानसँग सम्बन्धित विषय हेर्ने भारतीय विदेश मन्त्रालयको आधिकारिक विवरणमा उल्लेख छ।

नेपाल भ्रमणका क्रममा महावर नेपाल–भारत विद्युत क्षेत्र सहकार्यसम्बन्धी संयुक्त निर्देशक समिति अर्थात जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) र संयुक्त कार्यदल अर्थात जोइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) का बैठकमा सहभागी हुनेछन्।

जेएससी ऊर्जा सचिवस्तरीय र जेडब्लूजी सहसचिवस्तरीय द्विपक्षीय संयन्त्र हुन्। यी संयन्त्रले नेपाल–भारत विद्युत व्यापार, जलविद्युत आयोजना, सीमापार प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार सहकार्यका विषयमा छलफल र आवश्यक निर्णय गर्दै आएका छन्।

बैठकमा द्विपक्षीय विद्युत व्यापारको विस्तार, निर्माणाधीन तथा प्रस्तावित सीमापार प्रसारण लाइन, नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको भारतीय बजारमा पहुँच र विगतका सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button