राष्ट्रियता कमजोर बनाएको आरोप लगाउँदै आन्दोलनको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
चिकित्सा व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई पर्याप्त महत्व नदिने सरकारले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको आरोप लगाउँदै वर्तमान सरकारको आलोचना गरेका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले सरकार र वर्तमान राजनीतिक व्यवस्थाको कार्यशैलीले नेपालको राष्ट्रिय पहिचान र स्वाभिमान कमजोर बनाएको दाबी गरे।
उनले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राज्य हिचकिचाएको आरोप लगाउँदै विदेशी शरणार्थी तथा बाह्य स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले मुलुकको अस्मिता जोखिममा पारेको टिप्पणी गरे।
“नेपाल राष्ट्र निर्माण गर्ने राजा पृथ्वीनारायण शाहको तस्बिरमा थुक्ने र राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही हुँदैन, तर राष्ट्रिय पहिचानको कुरा गर्नेलाई दबाउन खोजिन्छ,” प्रसाईँले भने, “काठमाडौंमा दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिने सरकारले आफ्नै देशका सुकुम्वासी र गरिब नागरिकलाई भने उठीबास लगाइरहेको छ।”
उनले काठमाडौंका विभिन्न स्थानमा तिब्बती तथा रोहिंग्या शरणार्थीले आश्रय पाइरहेको दाबी गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित आवासबाट वञ्चित हुनुपरेको बताए।
“विदेशीले नेपालमा शरण पाउने तर नेपाली नागरिकले खोलाको किनारमा समेत बस्न नपाउने अवस्था विडम्बनापूर्ण छ,” उनले भने।
प्रसाईँले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याज, ट्राफिक नियम उल्लङ्घनका नाममा लगाइने जरिवाना तथा भूमिहीन सुकुम्वासी बस्ती हटाउने सरकारी नीतिले सर्वसाधारणको जीवन कठिन बनाएको आरोप लगाए।
गणेश नेपालीको निधनको प्रसङ्ग उल्लेख गर्दै उनले आर्थिक तथा प्रशासनिक दबाबमा परेका नागरिकलाई संरक्षण गर्न राज्य असफल भएको दाबी गरे। यद्यपि गणेशको परिवारले उपचारका क्रममा सरकारले आवश्यक पहल गरेको बताइसकेको छ।
प्रसाईँले आफूलाई सरकारले घरबाट बाहिर निस्किन नदिई ‘नजरबन्द’मा राखेको आरोपसमेत लगाए। जनताका समस्या र असन्तुष्टिको आवाज दबाउने प्रयास भइरहेको भन्दै उनले आगामी दशैँसम्ममा वर्तमान व्यवस्थाविरुद्ध सशक्त आन्दोलन शुरु गर्ने चेतावनी दिए।
उनले बैंकको ब्याजदर, वित्तीय संस्थाको ऋण असुली प्रक्रिया, सुकुम्वासी व्यवस्थापन, ट्राफिक जरिवाना र राष्ट्रिय पहिचानका विषयलाई आफ्नो आगामी आन्दोलनका प्रमुख मुद्दा बनाउने संकेत गरे।
प्रसाईँले व्यक्त गरेका दलाई लामाको जन्मजयन्तीसम्बन्धी कार्यक्रम, शरणार्थी व्यवस्थापन र नजरबन्दसम्बन्धी विषय उनका आरोप तथा राजनीतिक दाबी हुन्। सम्बन्धित सरकारी निकायबाट ती आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।





