२८ असार २०८३, आईतवार

बढ्दो असन्तोषबीच प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घण्टा छलफल

ड्रागन मिडिया समाचार कक्ष

सरकारको कामकारबाहीप्रति आलोचना र सार्वजनिक असन्तोष बढिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आइतबार चार घण्टाभन्दा बढी छलफल गरेका छन्।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। शाह बिहान करिब सवा ११ बजे लामिछाने निवास प्रवेश गरेको र दिउँसो सवा ३ बजे बाहिरिएको जनाइएको छ।

भेटवार्ता एक्लाएक्लै भएको र त्यसक्रममा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही तथा पार्टीभित्रका विषयमा विस्तृत छलफल भएको श्रोतको भनाइ छ।

उनीहरूबीच भूमिहीन सुकुम्वासी समस्या समाधान, विस्थापित परिवारको व्यवस्थापन तथा रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

सरकारको पहिलो एक सय दिनको कार्यसम्पादन, जनस्तरमा देखिएको असन्तुष्टि र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच समीक्षा भएको श्रोतले जनाएको छ।

शाह नेतृत्वको सरकारले जुलाई ४ मा आफ्नो पहिलो एक सय दिन पूरा गरेको थियो। सरकारले सार्वजनिक गरेको एक सय बुँदे कार्ययोजनामध्ये करिब एक तिहाइ काम मात्रै निर्धारित अवधिमा पूरा भएको र अधिकांश योजना कार्यान्वयन वा प्रारम्भिक प्रक्रियामै रहेको विवरण सार्वजनिक भएको थियो।

विशेष गरी वैकल्पिक व्यवस्थापनसँग जोडिएको सुकुम्वासी बस्ती हटाउने अभियानले सरकारमाथि दबाब बढाएको छ। भूमिहीन परिवारको पहिचान, पुनर्स्थापना र क्षतिपूर्तिको प्रक्रिया अपेक्षाकृत ढिलो भएको भन्दै सरकारको आलोचना भइरहेको छ।

गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको निधनपछि पनि सरकारको सामाजिक सुरक्षा नीति, प्रशासनिक संवेदनशीलता र गरिब नागरिकप्रतिको उत्तरदायित्वलाई लिएर राजनीतिक दल, अभियन्ता तथा सामाजिक सञ्जालमा बहस तीव्र बनेको छ। यद्यपि गणेशका परिवारले उपचारका क्रममा सरकारले आवश्यक प्रयास गरेको बताइसकेको छ।

सरकार गठनको एक सय दिनलगत्तै प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीच भएको लामो भेटलाई सरकार र पार्टीबीच नीतिगत समन्वय बढाउने तथा पछिल्लो राजनीतिक दबाबको सामना गर्ने प्रयासका रूपमा हेरिएको छ।

भेटवार्ताबारे प्रधानमन्त्रीको सचिवालय वा रास्वपाले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। छलफलका विषयबारे सार्वजनिक विवरणहरू सम्बन्धित श्रोतलाई उद्धृत गर्दै आएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button