२९ असार २०८३, सोमबार

कांग्रेस नीति प्रतिष्ठानअन्तर्गत छ उपसमिति गठन, संयोजकहरू तोकिए

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत विभिन्न विषयगत क्षेत्र हेर्ने गरी छ वटा उपसमिति गठन गरिएको छ। प्रतिष्ठानले ती उपसमितिका संयोजकसमेत तोकेको छ।

प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी, समावेशी र विषयकेन्द्रित बनाउने उद्देश्यले उपसमितिहरू गठन गरेका हुन्।

अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थलाई जिम्मेवारी दिइएको छ। आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ तोकिएका छन्।

त्यस्तै, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार र पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं नियुक्त भएका छन्।

सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सीताराम काफ्लेलाई जिम्मेवारी दिइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकले उपसमिति गठन तथा संयोजक मनोनयनसम्बन्धी निर्णय गरेको हो।

बैठकले प्रतिष्ठानको आगामी कार्यदिशा, प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम, सङ्गठनात्मक प्रभावकारिता र समसामयिक विषयमा समेत महत्वपूर्ण निर्णय गरेको जनाइएको छ।

विषयगत उपसमितिहरूमार्फत सम्बन्धित क्षेत्रका सरोकारवालासँग संवाद र समन्वय बढाउनुका साथै पार्टीको नीति निर्माण, प्रशिक्षण तथा अभियानलाई थप व्यवस्थित बनाउने प्रतिष्ठानको उद्देश्य रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button