२९ असार २०८३, सोमबार

किम्रुङ खोलाको बाढीले मोदीमा जलस्तर बढ्यो, घर–होटल बगाउँदा सडक र पदमार्ग अवरुद्ध

ड्रागन मिडिया समाचार कक्ष

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलाको जलस्तर एक्कासी बढ्दा नदी किनारका घर, होटल, रेस्टुरेन्ट र सडकमा ठूलो क्षति पुगेको छ।

अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमामा पर्ने स्याउलीबजारमा स्थानीय दिलीप गुरुङको घर तथा होटल पूर्ण रूपमा बगाएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। बाढीले स्थानीय जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुर्‍याएको छ।

मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले किम्रुङ खोलामाथिको झोलुङ्गे पुलसमेत बगाएको छ।

पुल बगेपछि अन्नपूर्ण पदमार्ग हुँदै घान्द्रुक जाने स्वदेशी तथा विदेशी पर्यटकसँगै स्थानीयवासीको आवतजावत प्रभावित भएको छ। सडक र पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक आवागमनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलाको सतह अस्वाभाविक रूपमा बढेको थियो। पानीको तीव्र बहाव र नदी कटानका कारण किनारमा रहेका भौतिक संरचनामा क्षति पुगेको हो।

स्थानीयवासीले माथिल्लो क्षेत्रमा पहिरो खसेर केही समय खोला थुनिएको र थुनिएको पानी एक्कासी खुलेपछि ठूलो बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। यद्यपि बाढी आउनुको वास्तविक कारणबारे प्राविधिक अध्ययन हुन बाँकी छ।

घटनापछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। प्रशासनले नदीको जलस्तर र बहाव अझै जोखिमपूर्ण हुन सक्ने भन्दै नदी किनारमा नजान तथा उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष केसी, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि घटनास्थलमा पुगेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सुरक्षाकर्मी, जनप्रतिनिधि र एक्यापको संयुक्त टोलीले प्रभावित क्षेत्रको निरीक्षण, क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको छ।

बाढीबाट भएको सम्पूर्ण भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ। प्रभावित सडक र झोलुङ्गे पुल पुनः सञ्चालनमा नआएसम्म घान्द्रुक तथा आसपासका क्षेत्रमा जाने यात्रु र पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button