सुगुरे जीप दुर्घटनाका घाइतेको उपचारमा बझाङका सबै स्थानीय तहले सहयोग गर्ने

ड्रागन मिडिया समाचार कक्ष
बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुगुरेमा असार २७ गते भएको जीप दुर्घटनाका गम्भीर घाइतेको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले घाइतेको उपचार, हवाई उद्धार तथा हेलिकप्टर चार्टरमा ठूलो खर्च लाग्ने देखिएपछि प्रत्येक स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ र पाँच जनालाई नेपालगन्ज पठाइएको छ। घाइतेको औषधि उपचार र हवाई उद्धार खर्चिलो भएपछि जिल्लाका स्थानीय तहबाट सामूहिक रूपमा सहयोग जुटाउने निर्णय गरिएको समितिले जनाएको छ।
स्थानीय तहबाट संकलन हुने आर्थिक सहयोगको समन्वय गर्ने जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको छ।
समितिले जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ, राष्ट्रसेवक कर्मचारी तथा इच्छुक व्यक्तिलाई पनि घाइतेको उपचारका लागि स्वैच्छिक आर्थिक सहयोग गर्न अपिल गरेको छ।
घाइतेको उपचारमा थप राहत पुर्याउन गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग आवश्यक सहायता उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले सुगुरे जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
दुर्घटनालगत्तै खोज तथा उद्धार, सञ्चार र समन्वयमा खटिएका स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिलाई समितिले धन्यवाद दिएको छ।
यसैबीच, मनसुन शुरु भएसँगै अविरल वर्षा, बाढी, पहिरो र नदी कटानका कारण जिल्लाका सडक थप जोखिमपूर्ण बन्दै गएको भन्दै समितिले विशेष सजगता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण सडकमा माटो र ढुंगा थुप्रिने, खाल्डाखुल्डी बढ्ने तथा नदी कटानबाट सडकको संरचना कमजोर हुने भएकाले दुर्घटनाको जोखिम बढेको समितिको निष्कर्ष छ।
बैठकले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र पर्ने सडकका जोखिमयुक्त मोड सुधार गर्न तथा आवश्यक स्थानमा तत्काल मर्मतसम्भारको व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ।





