२९ असार २०८३, सोमबार

विराट शिक्षण अस्पतालमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन

ड्रागन मिडिया समाचार कक्ष

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।

अस्पतालको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले आयोजना गरेको ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ नेपालमै पहिलोपटक आयोजना गरिएको आयोजकले जनाएको छ।

‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित आयोजित सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा विकसित अत्याधुनिक प्रविधिबारे नेपाल, भारत र बंगलादेशका चिकित्सक तथा विशेषज्ञबीच छलफल भएको थियो।

सम्मेलनमा भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर, नयाँ दिल्लीका प्रा. डा. मनोज गुप्ता सहभागी भएका थिए।

बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकले सहभागिता जनाएका थिए।

नेपालका तर्फबाट विराट शिक्षण अस्पतालका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो अनुभव र ज्ञान साझा गरेका थिए।

सम्मेलनमा न्यूक्लियर मेडिसिनको प्रयोग, क्यान्सरको पहिचान तथा उपचारमा मोलिक्युलर इमेजिङको भूमिका, लक्षित रेडियोआइसोटोप उपचार र थेरानोस्टिक्स प्रविधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

विराट शिक्षण अस्पतालले पूर्वी नेपालमा पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ।

पेटभित्र फैलिने क्यान्सरको उपचारमा प्रयोग हुने हाइपेक सेवा पनि पूर्वी नेपालमा पहिलोपटक सोही अस्पतालमा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

डा. चौधरीका अनुसार सम्मेलनले पूर्वी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर उपलब्ध गराएको छ।

उनले अत्याधुनिक प्रविधि र उपचार पद्धति स्थानीय स्तरमै विस्तार गर्न सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

“यस्ता सम्मेलनले उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै क्यान्सरलगायत जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता क्रमशः घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ,” डा. चौधरीले भने।

सम्मेलनमा काठमाडौँ, पोखरा, चितवन, झापा, सुनसरी र मोरङलगायत देशका विभिन्न जिल्लाबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले न्यूक्लियर मेडिसिन, मोलिक्युलर इमेजिङ र क्यान्सर उपचारमा विकसित अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालका स्वास्थ्य संस्थासँग जोड्न तथा विशेषज्ञबीच दीर्घकालीन सहकार्य विस्तार गर्न महत्वपूर्ण आधार तयार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button